सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई पोखरा पुर्‍याइयो

 

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआइजी) छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको निर्देशनपछि जोशीलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले कास्की जिल्ला प्रहरीको पत्रका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । सूर्यदर्शनलगायत सहकारीको बचत रकम अपचलनका सन्दर्भमा परेका जाहेरीमा पुरक अनुसन्धान गर्न संसदीय छानविन विशेष समितिको सिफारिसका आधारमा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । यसैबीच रवि लामिछानेलाई समेत पक्राउ गर्न लागिएको बताइए पनि आज भने पक्राउ नपर्ने प्रहरी स्रोतले जनाएको छ ।

-एनपी