विद्यार्थीलाई प्रचण्डको आह्वान- तपाईंहरू सडकको बाघ बन्नुस्, म संसद्को सिंह बन्छु

Open photo

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्निर्माण गर्ने बताएका छन् । बिहीबारबाट सुरु भएको अखिल क्रान्तिकारीको २३औं सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

“हामीले पार्टी पुनर्निर्माण गर्नेछौँ । समुदायसँगको हाम्रो सम्बन्ध कमजोर भएको छ, यसलाई पुन: बलियो बनाउनेगरी समीक्षामा केन्द्रित छौँ । पार्टी पुनर्निर्माणमा केन्द्रित हुँदै गर्दा विद्यार्थी सङ्गठनसँग अपेक्षाहरू छन् । तपाईंहरूले सोच्नुपर्छ,” उनले भने ।

प्रचण्डले विद्यार्थीहरूलाई दलाल, नोकरशाहीहरूप्रति सडकमा दह्रोगरी उत्रिन आह्वान गरेका छन् । पछिल्लोपटक आफू सरकारबाट बाहिरिएको प्रसङ्ग जोड्दै उनले भने, “तपाईंहरू सडकको बाघ बन्नुस्, म प्रतिनिधि सभाको सिंह बन्छु ।”

अगाडि उनले भने, “दलालहरूले सङ्ख्याको बलमा बाहिर पारे । तर, तपाईंहरूको साथ रह्यो भने केही महिनाभित्रै परिस्थिति उल्ट्याउन सकिन्छ । हामी सरकारबाट बाहिरिँदै गर्दा खुसी हुँदै बाहिरिएका हौँ । अब फेरि जनताको तागत लिएर हामी आउनेछौँ ।”

उनले आफू १८ महिना सरकारमा हुँदा नयाँ रेकर्डहरू बनाएको बताए । “भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, भ्रष्टहरूलाई कारबाहीको दायरमा ल्याएकै हो, हाइ-प्रोफाइलहरूलाई कारबाहीमा ल्याएकै हो, भूमाफियाहरूको राज्य तथा नागरिकका जग्गा बेचेर खानेहरूविरुद्ध निर्मम रूपमा उत्रिएको हो । मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि कानून बनाएर काम सुरु गरेकै हो । युवाहरूलाई नागरिक प्रदान गर्ने ढोका खोलेकै है,” उनले भने ।

यी कामहरू गरेकै कारण दलालहरूले आफूलाई सरकारबाट झारेको उनले बताए । “यसकै कारण दलालहरूले तथाकथित सङ्ख्याको भरमा हामीलाई सरकारबाट हुत्याए,” उनले भने ।

-एनपी