बलात्कार मुद्दामा फसाई दिने भन्दै आर्थिक लेनदेनको आरोपमा इन्स्पेक्टर शाहीलाई निलम्बन सिफारिस

Open photo

 

काठमाडौं । ललितपुर प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीमाथि छानबिन शुरु भएको छ । शाहीमाथि एक व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी नरहरि अधिकारीको नेतृत्वमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको हो । समितिलाई यथाशक्य प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । छानबिन गर्न कार्यालयले उनको जिम्मेवारी खोसेको छ । परिसरले यस घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी नरेशराज सुवेदीले जानकारी दिए । आपराधिक लाभ लिन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।

‘अनियमिततामा प्रहरी निरीक्षकको पनि संलग्नता छ कि भन्ने केही आधारहरू देखिएकाले तत्काल निलम्बनको लागि सिफारिस गरेका छौं,’ उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ ।’ शाहीमाथि बलात्कार मुद्दामा फसाइ दिने भन्दै ३० लाख रूपैयाँ लिएको आरोप लागेको छ । उनलाई जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी कार्यालय तानिएको छ ।

-एनपी