अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्बारा लिबियामाथि भिषण बमबारी जारी

फ्रान्स, अमेरिका तथा बेलायतको गठबन्धन फौजले लिबियामाथि सैनिक विमान प्रयोग गरी नयाँ चरणको भिषण सैनिक कार्वाहि गरेका छन्।

 

 अमेरिकी सेनाको अध्यक्ष चिफ अफ स्टाफ माइकल मालनले केही टेलिभिजनको कार्यक्रममा बोल्दै लिबिया उडान निषेध क्षेत्र भएकोले सैनिक कार्वाहिले सफलता प्राप्त गरेको कुरा व्यक्त गर्नुभएको छ। सरकारविरोधी सशस्त्र शक्तिद्बारा नियन्त्रित पानच्यासिमा लिबियाली सरकारी सेनाको आक्रमणलाई गठबन्धन फौजले प्रत्याक्रमण गरिरहेको छ।

 

यसबाहेक नर्वे वायु सेनाले यस साता छ वटा F16 युद्धक विमान तथा एक सयभन्दा बढी वायु सैनिक पठाएर लिबियामाथि सैनिक कार्वाहिमा भाग लिने सार्वजनिक गरेको छ। साथै कतार सरकारले पनि चार वटा युद्धक विमान पठाएर उक्त सैनिक कार्वाहिमा भाग लिने निर्णय गरेको छ।

 

अमेरिकी गठबन्धन फौजद्वारा लिवियामा जारी बमबारीको अरव लिग, चीन, भारत लगायतका देशद्वारा भत्सर्ना

 

खाडी राष्ट्रहरुको क्षेत्रिय संगठन अरव लिगले लिवियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको बमबारीको कडा आलोचना गरेको छ। अरव लिगका महासचिव अमर मौसाले लिवियामा नेता कर्णेल गद्दाफीविरुद्ध उडान निषेधित क्षेत्र बनाउनुपर्ने अपरिहार्यता रहेको भएपनि भिषण बमबारीले नागरिकको सुरक्षा नहुने प्रतिक्रिया दिएका छन्। उनले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई बमबारी नगर्न समेत आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा गद्दाफीविरुद्ध लिवियामा उडान निषेधित क्षेत्र बनाउने कुरामा अरव लिगको मुख्य समर्थन रहेको थियो। अरव लिगको सो भनाइबाट लिगभित्र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले लिवियामा गरिरहेको सैन्य कारवाहीका सम्बन्धमा एक मत  नरहेको देखिएको छ।

 

यसैविच लिवियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको सैन्य कारवाहीमा मारिनेको संख्या ६४ पुगेको बताइएको छ। आक्रमणमा सयौं जना घाइते भएका छन्।

 

राजधानी टि्रपोलीमा पनि नयाँ विष्फोटको आवाजहरु सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। गद्दाफीले आम नागरिकको प्रदर्शनलाई दमन गरेको भन्दै अमेरिका लगायत पश्चिमा शक्ति राष्ट्रहरुले उनलाई सत्ताबाट हटाउन सैन्य कारवाही संचालनमा ल्याएका हुन्। गद्दाफीविरुद्ध गत महिनादेखि नै लिवियामा विरोध प्रदर्शन शुरु भएको थियो। लिवियामा गद्दाफीले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको र देशमा गरिवी तथा वेरोजगारी बढेको भन्दै नागरिक उनीविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्।।

अमेरिकी नेतृत्वको गठबन्धन सेनाले लिवियामा गरेको सैन्य कारवाहीप्रति विभिन्न मुलुकले विरोध जनाएका छन्। लिवियाली शासक कर्णेल गद्दाफी सुरु भएको सैन्य कारवाहीलाई लिएर रुस, चीन, भारत र अफ्रिकी संघले आलोचना गरेका छन्। संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा गद्दाफीविरुद्ध लिवियामा उडान निषेधित क्षेत्र घोषणा गर्नका लागि गत शुक्रवार भएको मतदानमा रुस, चीन, जर्मनी र ब्रजिल अनुपस्थित रहेका थिए।

 

 रुसले गद्दाफीविरुद्ध गरिएको सैन्य कारवाहीप्रति खेद व्यक्त गरेको छ। उसले पश्चिमी राष्ट्रहरुले लिवियामा सैन्य कारवाही गरेर लिवियाको हालतलाई अझ जटिल बनाएको आरोप लगाएको छ। त्यसैगरी चीनको विदेश मन्त्रालयले लिवियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको बमबारीले अकल्पनिय क्षति हुन सक्ने भन्दै लिवियामा भैरहेको सैन्य कारवाहीप्रति दुःख प्रकट गरेको छ। यसैगरी भारत सरकारले पनि सैन्य कारवाहीको निन्दा गरेको छ। विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नागरिकलाई समस्या हुने कुनै पनि गतिविधी नगर्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ।

 

उता भेनेजूएलाका राष्ट्रपति ह्यूगो चाभेजले पनि लिवियामा जारी सैन्य कारवाहीको आलोचना गरेका छन्। उनले लिवियामाथि भैरहेको सैन्य कारवाहीलाई अमेरिकाको ज्यादतीको संज्ञा दिएका छन्। यसैगरी अफ्रिकी संघले पनि लिवियामाथिको सैन्य कारवाही तुरुन्त बन्द हुनुपर्नेमा जोड दिएको छ।