भक्तपुर – यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखि सुरु भएको छ ।
परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना विद्यार्थी सहभागी छन् । जसमा नियमिततर्फ छात्र दुई लाख २९ हजार सात सय ९१ जना र छात्रा दुई लाख ६ हजार ६ सय २० जना रहेका छन् । यस्तै एक्जाम्टेडतर्फ छात्र २५ हजार आठ सय पाच जना र छात्रा ३४ हजार २७ जना रहेका छन् ।
परीक्षाको लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको र त्यसका लागि कुल ४७ हजार २४२ जना कर्मचारी खटाइने बताइएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भएको हो।
सरकारले यसबर्ष चिड चोर्ने, चोराउने र परीक्षालाई अमर्यादित बनाउन खोज्ने जो कोहीलाई तत्काल पक्राउ गरी सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाउने भएको छ ।
परीक्षा केन्द्रमा केन्द्राध्यक्षबाहेक कसैलाई पनि मोवाइल चलाउन नदिने गौतमले बताए । सो परीक्षा यही चैत १८ गतेसम्म चल्नेछ । रासस
पर्सामा ६६ वर्षीय वृद्ध एसएलसी परीक्षामा सामेल
पर्सा (वीरगन्ज) – शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साका एक वृद्धले दिएका छन्। आजबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन्।
जिल्लाको अति विकट बस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट दस पास गरेका गुरुङले विजयवस्ती केन्द्रबाट परीक्षा दिइरहेका छन्।
पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए।
पर्सामा यस वर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५ परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए।
सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ।
यसैबीच एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ।
एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ।
विराटनगर�१४ मा रहेको एक्सल ट्युसन सेन्टरका सञ्चालक मनिष स्वर्णकारसहित प्रश्नपत्र फोटोकपी गरेर परीक्षा केन्द्रमा लगी बाँड्न सघाउने १७ जनालाई पक्राउ गरेको हो।
प्रहरीले १६ जनालाई प्रश्नपत्रसहित र सञ्चालक स्वर्णकारलाई पाइखानाभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।
– रासस