प्रतिगामी दिशाबाट गरिने संविधान संशोधन हामीलाई स्विकार्य छैनः राजमो महासचिव भट्ट

 

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची।

अर्घाखाँची- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले प्रतिगामी, जातिवादी र जनविरोधी दिशाबाट गरिने संविधान संशोधन आफुहरुलाई स्विकार्य नहुने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मंगलबार भूमिकास्थान–१, ढाकावाङ्गमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै महासचिव भट्टले यस्तो बताउनुभएको हो ।

मुलुकको दिगो विकासका निम्ती बाधक बनेको संघियता खारेजीको विकल्प नभएको जिकिर गर्दै उहाँले संविधान संशोधन गर्ने नै भए संघियता रहित हुने गरि गर्नुपर्नेमा जोड दिनुभएको छ । सरकार र सत्तारुढ दलहरुले नागरिकलाई भ्रममा पार्न नयाँ–नयाँ स्टन्टबाजी गर्ने गरेको आरोप लगाउँदै महासचिव भट्टले देशको हितमा काम गर्ने को हो ? नगर्ने को हो ? नागरिकले जान्नुपर्ने बेला आएको बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य एव्ं भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राजमो जिल्ला कोषाध्यक्ष गोविन्द वि.सी., भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थी, भूमिकास्थान–२ का वडाध्यक्ष बुद्धि बहादुर थापा र अन्टुक नगर सदस्य भोजराज खनालले पनि कार्यक्रममा बोल्नुभएको थियो ।

राजमो भूमिकास्थान–१ का वडा अध्यक्ष हिमलाल खनालको अध्यक्षता र सदस्य जनकराज खनालको संचालनमा सम्पन्न कार्यक्रममा बोल्दै उहाँहरुले राष्ट्रिय जनमोर्चाले आगामी चैत २४ देखि ३० गतेसम्म काठमाडौँ केन्द्रित संघियता विरोधी आन्दोलन घोषणा गरेको जानकारी गराउँदै देश र जनताको घाँटी निमोठ्नेहरुका बिरुद्ध एकताबद्ध हुन आम रुपमै अपिल गर्नुभएको छ ।

 

अन्य समाचारहरु