लिवियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्धारा हवाइ आक्रमण जारी, गठबन्धन सेनाविरुद्धको लडाइमा आफ्नो जित हुने गद्दाफीको दाबी

लिवियाली शासक कर्णेल गद्दाफीले अमेरिकी नेतृत्वको गठबन्धन सेना विरुद्धको लडाइमा आफ्नो जित हुने बताएका छन्। उनले राजधानी ट्रपोली स्थित हालैको अमेरिकी नेतृत्वको गठबन्धन सेना विरुद्धको आक्रमणका कारण ध्वस्त बनेको भवनबाट आप्ना समर्थकहरुलाई सम्बोधन गर्दै यस प्रकारको दावी गरेका हुन्।

 

गद्दाफीको सो छोटो सम्बोधनमा उनले सबै इस्लामिक फौज आफूसँग सम्मिलित हुन आग्रह पनि गरेका छन्। केही दिनअघि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको क्षेप्यास्त्र आक्रमणका क्रममा गद्दाफीको एक कार्यालय भवन ध्वस्त बनेको थियो। उनले सोही भवनबाट आफ्ना समर्थकहरुलाई सम्बोधन गरेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।। 
  
लिवियामा अमेरिकी नेतृत्वको गठबन्धन सेनाद्धारा हवाइ आक्रमण जारी रहेको छ। हवाइ आक्रमणका कारण लिवियाको बायु सैनिक क्षमता कमजोर भएको छ। जसले गद्दाफी माथि नयाँ दवाव खडा गरिदिएको छ। गद्दाफी विरुद्ध लिवियाका विद्रोही समुह गत महिनादेखि नै लड्दै आएकाले यसले थप दवाव पुगेको हो। उनीहरुले गद्दाफीलाई सत्ताबाट हटाउन गरेको शसस्त्र संघर्ष लिवियाली सैनिक क्षमताका कारण कमजोर रहेको थियो।

 

तर पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले लिवियामा सैन्य कारवाही शुरु गरेपछि विद्रोहीहरुको मनोबल उच्च रहेको छ। यसका साथै विद्रोहीहरुले गद्दाफी नियन्त्रित क्षेत्रमा पुन आफ्ना पकड जमाउन पनि सक्षम रहेका छन्। गत शुक्रवार लिवियामा गद्दाफी विरुद्ध उडान निषेधित क्षेत्रको घोषणा गर्ने प्रस्तावलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा अनूमोदन गरिएपछि अमेरिकी नेतृत्वको गठबन्धन सेनाले लिवियाली भूमिमा सैन्य कारवाही तिव्र बनाएको हो।

 

लिवियाली शासक गद्दाफीको विरुद्ध भैरहेको सैन्य कारवाहीका क्रममा अमेरिका, फ्रान्स र बेलायत बाहेक अन्य उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो सदस्य राष्ट्रहरुको पनि सहभागिता रहेको छ। इटलीले अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई आफ्नो सैन्य अखाडाहरु उपलब्ध गराएको छ भने क्यानाडा र स्विडेनले आफ्ना लडाकू विमानहरुलाई अमेरिकी नेतृत्वको गठबन्धन सेनालाई सहयोग गर्नको लागि भूमध्य सागरतर्फ पठाएका छन्।