लहान – प्राप्त समाचार अनुसार विहीबारबाट सुरु भएको एसएलसी परीक्षाको पहिलो दिन सिरहामा पाँच जना नक्कली परिक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षा समन्वय समितिका अध्यक्ष तथा सिरहाका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र बानियाका अनुसार अरुको प्रवेश पत्रमा आफनो फोटो टास गरी परीक्षा दिने क्रममा लहानस्थित दुई परीक्षा केन्द्रबाट नक्कली परिक्षार्थी अजय यादव र रमेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी सिरहाको विष्णुपुरा केन्द्रबाट अरुको नाममा परिक्षा दिइरहेका नक्कली परिक्षार्थी कान्छा कुमार महतो, प्रमोद महतो र अधिकलाल यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
परीक्षालाई मर्यादित र अनुशासित बनाउन चिट चोर्ने र चोराउनेलाई ६ महिना कैद र एक लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान राखिएको छ । लहानस्थित एक परीक्षा केन्द्रबाट चिट चोराउन लागेका बेला पक्राउ परेका निरीक्षक सुनिल पासवानलाई प्रहरीले कारवाही नगरी छोडिदिएको छ । सिरहामा यो वर्ष २९ वटा परीक्षा केन्द्रमा नियमित तर्फ ७ हजार ७ सय ६२ जना र ५ सय २३ जना एक्जाम्टेड गरी कुल ८ हजार २ सय ८५ जना विद्यार्थी परीक्षामा सामेल छन् ।