– शोभाखर पन्थी
चैत्र १० अर्घाखाँची । एसएलसी परिक्षाको पहिलो दिन आज अर्घाखाँची जिल्लामा करीब ६ कुइन्टल चिट जफत गरिएको छ ।
जिल्लामा संचालन भएको एसएलसी परिक्षा अनुगमनको लागि जिल्ला शिक्षा कार्यलयबाट खटिएको टोलीले परिक्षा संचालन हुनु भन्दा पहिला नै परीक्षार्थीहरुलाई खान तलासि गरी ६ कुइन्टल चिट जफत गरेको थियो ।
परीक्षालाई मर्यादित बनाउन जिल्ला स्तरीय परीक्षा अनुगमन समितीले ५ दर्जन कर्मचारीहरुलाई प्रत्येक केन्द्रमा कम्तीमा एक जना महिला हुने गरी खटाएको थियो ।
अघिल्ला वर्षहरुमा अर्घाखाँचीको परीक्षालाई लिएर उठ्ने गुनासाहरुलाई ख्याल गरी यस पटकको परीक्षालाई व्यवस्थित बनाईएको थियो ।
कार्यालयले चिट चोराउनेहरुलाई कार्वाही गरीने र चोर्नेलाई परीक्षाबाट निस्कासित गर्ने चेतावनि दिएपछि चिट चोर्ने र चोराउने परम्परा पुर्ण रुपमा निरुत्साही नभएको जनाईएको छ ।
आज पहिलो दिनको एसएलसी परीक्षामा नियमित तर्फका १ हजार ८ सय १८ छात्र र १ हजार ८ सय ६० छात्रा गरी ३ हजार ६ सय ७८ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।
एक्जामटेड तर्फ ७ सय ६९ छात्र र १ हजार २ सय २६ छात्रा गरी १ हजार ९ सय ९५ जना सहभागी भएका थिए ।
परीक्षामा नियमित र एक्जामटेड गरी ४६ जना छात्र र ४८ जना छात्रा गरी ९४ जना अनुपस्थित रहेको जनाइएको छ ।
आजको परीक्षामा अर्घाखाँचीबाट महेन्द्र विद्याबोध उच्च माविका कि्रयापुत्री विकास ताम्राकार सहभागि भएका थिए । यसै गरि परीक्षामा सुस्त मनस्थितिका २ जना अशक्त ५ जना र अपाङ्ग १३ जना समेत सहभागि भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
परीक्षामा नक्कल गर्ने प्रवृत्तीको अन्त्य गरी विद्यार्थीहरुलाई सहज रुपमा परीक्षा दिने वातावरण सीर्जना गरिएको जिल्ला स्तरीय परिक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बताए ।
अर्घाखाँचीमा यस पटक २४ वटा परीक्षा केन्द्रमा परिक्षा संचालन भई रहेको छ ।