नयाँ नोट नछाप्दा राज्यलाई डेढ अर्ब फाइदा

Open photo

 

 काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गरी यस वर्ष नयाँ नोट नछाप्दा नोट सटहीको चाप ह्वात्तै घटेको छ । गत वर्ष राष्ट्र बैंकले काठमाडौं उपत्यकामा मात्र साढे १४ अर्ब तथा देशभर २९ अर्ब नयाँ नोट सटही गरेको थियो । यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ । यो झन्डै २५ अर्बले कम हो ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक बासुदेव भट्टराईका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र अन्य बैंकबाट पनि सोही बराबरीको नोट सटही भएको अनुमान छ ।

नयाँ नोट मुद्रण नहुँदा त्यसका लागि हुने खर्च जोगिएको छभने सटहीका लागि थप जनशक्ति व्यवस्थापनको झन्झट बैंकले व्यहोर्न परेन । उहाँका अनुसार अघिल्लो वर्ष नयाँ नोट मुद्रणका लागि मात्रै पनि झन्डै डेढ अर्ब खर्च लागेको थियो ।

यस वर्ष बैंकले नयाँ नोट मुद्रण नगरी हाल चलनचल्ती रहेका सफा र सुकिला नोटको प्रयोगलाई जोड दिएको छ । बैंकको उक्त नीतिअनुरुप यस वर्षको दशैंतिहार लगायतका चाडबाडमा चलनचल्तीकै सुकिला नोट प्रयोग हुने छ ।

नयाँ नोट दशैं तिहार जस्ता पर्वमा मात्र अत्याधिक माग हुने तथा त्यसपछि बैंकका ढुकुटीमा थुप्रिएर बस्ने भएकाले त्यस्ता जम्मा भएका नोटको सदुपयोग गर्ने र नोट छपाईका लागि लाग्ने फजूल गर्न राक्ने राष्ट्र बैंकले सुकिला नोटको प्रयोगलाई प्रोत्साहन गरेको हो ।

प्रत्येक वर्ष चाडबाडमा नयाँ नोट छापिने तथा घुमिफिरी ती नोट बैंकको ढुकुटीमा थुप्रिने क्रम बढेपछि बैंकले यस वर्ष चल्ने हदसम्म त्यस्ता नोटको सदुपयोग गर्ने निर्णयमा पुगेको निर्देशक भट्टराईको भनाइ थियो ।

पुराना नोट थिचिएर तथा ओसिएर स्वतः नष्ट हुँदै जाने भएकाले प्रयोग गर्न सकिने हदसम्म चलन चल्तीकै नोट उपयोग गर्न सकियोस् भनी यसपटक नयाँ नोट नछापिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले चलनचल्तीकै नोट प्रयोगमा जोड दिएपछि सटहीमा हुने चाप कम हुनुका साथै नयाँ नोटका नाममा हुन सक्ने फजूल खर्च समेत केही हदसम्म रोकिने अनुमान छ ।

गत वर्ष छापिएको भन्दा तीन गुणासम्म बढी नोट हाल बजारमा र बैंक ढुकुटीमा मौज्दात रहेकाले पनि नयाँ नोट निकाल्न नपरेको उहाँको तर्क छ ।

सफा र सुकिला नोट प्रयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उहाँले आगामी वर्षमा अहिले चलन चल्तीमा रहेकाभन्दा अझ सुकिला नोटले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

– image