भारतीय नेता बाबा सिद्दिकीको गोली हानी हत्या : शंकास्पद दुई जना पक्राउ

Open photo

 

 काठमाडौं । भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । मुम्बईको बान्द्रामा आक्रमणकारीले शनिबार राति उनीमाथि दर्जनौं गोली प्रहार गरेर हत्या गरिएको हो । अझैसम्म गोली हान्ने समूहको पहिचान नभएको मुम्बई प्रहरीले जनाएको छ ।

छोरा जिशान सिद्दिकीको कार्यालय बाहिर बान्द्रा (पूर्व) को निर्मल नगरको कोलगेट मैदान नजिकै रहेका बेला उनीमाथि गोली प्रहार भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । राति साढे ९ बजेतिर घटना भएको हो । प्रहरीले दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बाबा सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए ।

यसै वर्ष उनी कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर घाइते भएका सिद्दिकीलाई तत्कालै चिकित्सकले मृत घोषणा गरेका थिए । सिद्दिकीले करिब पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका थिए ।