प्रधानमन्त्री झलनाथ खनालको सम्पत्ति विवरण सार्वजनिक, मन्त्रिमण्डलमा कसको सम्पत्ति कति ?

– अब्दुल्लाह मियाँ

 

काठमाडौं – प्रधानमन्त्री झलनाथ खनालसँग कति सम्पत्ति छ ? उनैले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्ने हो भने, बैंक खातामा खनालका नाममा एक हजार एक सय ६० रुपैयाँ मात्रै बचत देखिन्छ ।

प्रधानमन्त्री नियुक्त भएको झन्डै ४८ दिनपछि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा धेरैजसो चल/अचल सम्पत्ति श्रीमती रविलक्ष्मी चित्रकारका नाममा रहेको देखिन्छ । लक्ष्मी चित्रकारका नाममा कामनपा-१५ डल्लुआवास क्षेत्रमा ९ सय ४४ वर्गफिटमा बनेको एक पक्की घर छ । उक्त घर कृष्णबहादुर चित्रकारबाट पाएको जमिनमा बनाएको उल्लेख छ ।

खनालले इलामको साँखेजुङ-७ मा अंशबाट २३ रोपनी ३ आना ३ पैसा २ दाम, नौ रोपनी चार आना एक पैसा एक दाम, सात रोपनी १० आना र २१ रोपनी ४ आना जमिन प्राप्त भएको उल्लेख गरेका छन् । खनाल साँखेजुङमा जन्मिएका हुन् ।

कामनपामा-३२ मा माधव नेपालको परिवारको नाममा ८ आना २०४४ मा श्रीमतीको स्वआर्जनमा खरिद गरिएको उल्लेख छ भने दाताराम खनालको नाममा इलाम नगरपालिकामा सात आना जग्गा रहेको छ । स्वआर्जनमा कमाएको उक्त जग्गा नामसारी गर्न बाँकी रहेको उल्लेख छ । उनले १० तोला सुन देखाएका छन् र जुन श्रीमतीको आमाबुवाबाट प्राप्त भएको हो ।

खनालका नाममा एभरेस्ट बैंकमा एक सय ६० र बैंक अफ काठमाडौंमा एक हजार मौज्दात रहेको उल्लेख छ । रविलक्ष्मी चित्रकारका नाममा नेपाल बैंक लाजिम्पाटमा तीन हजार एक सय ६० बचत रहेको उल्लेख छ । रविलक्ष्मी चित्रकारकै नाममा मालिका विकास बैंकमा एक लाख ८५ हजार बजारको प्राइमरी सेयर १८५० थान रहेको उल्लेख छ ।

प्रधानमन्त्री खनालको चियाबगान र हाइड्रोपावर क्षेत्रमा राम्रो लगानी देखिन्छ । श्रीमतीको नाममा खरिद गरिएको फुङसेङ चिया बगान छ भने युनिफाइड हाइड्रो पावरमा एघार लाख ४० हजार र सिक्लेस हाइड्रो पावरमा आठ लाख चालीस हजार लगानी छ जुन श्रीमतीको नाममै छ ।

उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगर-१० मा पैत्रिक सम्पत्तिबापत ५ कठ्ठा जमिन प्राप्त भएको उल्लेख छ भने, उनीसँग सुनको गहना १५ तोला र चाँदी ५० तोला छ, जुन पैत्रिक सम्पत्तिबाट प्राप्त भएको हो ।

अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई एक महिनाअघि बुझाएको सम्पत्ति विवरणमा ओमकुमारी अधिकारीका नाममा जनता बैंक, बानेश्वरमा ५० लाख जम्मा भएको छ । उक्त रकम मोरङमा ६ बिघा १५ कठ्ठा जग्गा बिक्रीबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् ।

ओमकुमारीकै नाममा कृषि विकास बैंकमा दुई लाख, हिमालयन बैंकमा ४० हजार र मनकानमना विकास बैंकमा पाँच हजार देखिन्छ । त्यस्तै मनमोहन सामुदायिक अस्पतालमा ओमकुमारीका नाममा एक लाख, सिभिल होममा पाँच लाख, मनकामना सहकारी मोरङमा पाँच हजार र पासाङ ल्हामु शेर्पा स्कुलमा एक लाख १७ हजार बराबरको सेयर रहेको समेत विवरणमा उल्लेख छ । यसअघि पनि उपप्रधानमन्त्री र धेरैपटक मन्त्री भएका अधिकारीसँग एउटा गाडी छ । ४२१२ नम्बरको ‘अल्टो एक्स/सानो गाडी’ छोरीहरू लुना र लिजा अधिकारीका नाममा छ । उक्त गाडी २०६३ सालमा १० लाखमा किस्तामा किनिएको उल्लेख छ ।

रक्षामन्त्री विष्णु पौडेल र ओमप्रकाश अर्यालका नाममा बुटवल-१० मा एक कठ्ठा साढे पाँच धुर जमिन छ । पौडेलको काठमाडौंमा नवीन पौडेलका नाममा सैंबुमा नौ आना एक पैसा दुई दामको र कामनपा-४ मा आठ आना जग्गा उल्लेख छ ।

उनले पैत्रिक सम्पत्तिबाट प्राप्त भएको १६ तोला सुनको उल्लेख गरेका छन् । त्यस्तै, विभिन्न बैंकमा करिब चार लाख ९४ हजार ६ सय ३६, विभिन्न बैंकमा ६५३ थान सेयर छ । एक मोटरसाइकल छ । नवीन पौडेलका नाममा रहेको बा२७प ९३५ नम्बरको मोटरसाइकल २०६४ सालको कात्तिक २ मा एक लाख ५५ हजार रुपैयाँमा किनेको उल्लेख छ । पौडेलेको घरमा फ्रिज, कम्प्युटर ल्यापटप, वासिङमेसिन एक/एक र टेलिभिजन तीन थान छ ।

शिक्षामन्त्री गंगालाल तुलाधरसँग धादिङ कल्लेरी-७ पोखरीगाउँमा चार आना दुई पैसा तीन दाम र बैरेनी-७ मा दुई दाम जग्गा रहेछ । रामबहादुर तुलाधरको नाममा कल्लेरी ७ मै रहेको जग्गाको विवरणसमेत उनले खुलाएका छन् ।

आमा र श्रीमतीसँग तीन/तीन तोला गरी ६ तोला सुन रहेको मन्त्री तुलाधरले सम्पत्ति विवरणमा खुलाएका छन् । 

उनको नाममा नेपाल बैंक लिमिटेडमा ६९ हजार रुपैयाँ बचत छ । मन्त्री तुलाधरले पढाइ र घरखर्चका लागि लिएको ऋणसमेत उल्लेख गरेका छन् । उनले गोकर्ण पौडेलसँग तीन लाख, अनिरा श्रेष्ठसँग दुई लाख, ज्योति अधिकारीसँग एक लाख, पुष्प रुपाखेतीसँग ५० हजार र कृषि विकास बैंक, धादिङबाट तीन लाख ४० हजार ऋण लिएको उल्लेख गरेका छन् ।

उनको विवरणमा आठ हजार बराबरको एक सय ५० कित्ता सेयेर उल्लेख छ भने, सम्पत्ति विवरणमा एक भैंसीसमेत उल्लेख छ । २०६७ साउनमा ४० हजारमा उनले भैंसी किनेका थिए । त्यस्तै टीभी, कम्प्युटर, सीडीप्लेयर र क्यामेरासमेत रहेको उल्लेख छ । खनाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित माओवादीबाट सहभागी मन्त्रीहरूले भने सम्पत्ति विवरण बुझाइसकेका छैनन् । माओवादीबाट कृष्णबहादुर महराको नेतृत्वमा टोपबहादुर रायमाझी, वर्षमान पुन अनन्त र खड्गबहादुर विश्वकर्मा सरकारमा सहभागी छन् ।