इजरायली आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु

 

काठमाडौँ । इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहको हतियार भण्डारण केन्द्र र दहिहमा रहेको गुप्तचर मुख्यालय कमाण्ड सेन्टरलाई निशाना बनाएर गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा इजरायली आक्रमणको छानबिन गर्न आग्रह गरिरहेकै बेला यो आक्रमण भएको हो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घर लक्षित गरी हिजबुल्लाहले गरेको आक्रमणको केही समय नबित्दै इजरायली सेनाले हिजबुल्लाहको हतियार भण्डारण केन्द्र लक्षित आक्रमण गरेको हो । आक्रमणका कारण सो भण्डारण केन्द्रमा केही क्षति पुगेको छ ।

यसअघि हिजबुल्लाहले इजरायली सहर हाइफा र यसको उत्तरी क्षेत्रमा रकेट प्रहार गर्दा एकजनाको मृत्यु भएको थियो ।

यता इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानका बासिन्दालाई छिटोभन्दा छिटो देश छोड्न पुन चेतावनी दिएको छ ।

लेबनानका विभिन्न जिल्लाका बासिन्दाहरूलाई कुनै पनि बेला जस्तोसुकै आक्रमण हुन सक्ने भन्दै देश छोड्न चेतावनी जारी गरेको हो । इजरायलको चेतावनीसंगै हजारौंले थातथलो छोडेका छन् भने हजारौ पलायन हुने क्रममा छन् । -एजेन्सी ।