कपिलवस्तुबाट साढे २० लाख भारुसहित दुई भारतीय पक्राउ

 

काठमाडौं । कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रकमसहित दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएअनुसार लिङ्गेटस्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गाडीहरूलाई चेकजाँच गर्दा २० लाख पचास हजार भारतीय रकम बरामद गरेको हो ।

चेकजाँच गर्ने क्रममा भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटिका ३३ वर्षीय सलमान कुरेसियाको झोलाबाट ८ लाख र सोही स्थानका ३९ वर्षीय उमेश सखाराम खंडागलेको झोलाबाट १२ लाख ५० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको रकमसहित दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जनाइएको छ ।