लिवियामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले हवाइ कारबाही जारी राखेको समयमा मोअम्मर गद्याफी सरकारका उच्च पदस्थ अधिकारीहरुले पदत्याग गर्ने क्रम बढेको अपुष्ट समचार आएको छ।
विदेश मन्त्री मुस्सा कुस्सा देश छाडेर बेलायत पुगेको दुइ दिन पछि गद्याफीका निकट मानिने अन्य बरिष्ठ नेताहरुले पनि देश छाड्ने क्रम सुरु भएको बताइएको छ। अन्तर्राष्ट्रिय गठबन्धन सेनाले हवाइ आक्रमण तिब्र बनाएपछि वार्ताका लागि ट्यूनिसिया पुगेका बरिष्ठ अधिकारीहरुको समूह लिविया नफर्कने निर्णय गरेको केही अरबिक समाचारपत्रहरुले जनाएका छन्।
अरबिक समचारपत्रका अनुसार लिवियामा लोकप्रीय मानिएको एक समितिका प्रमुख अबु अल कसिम अल जावीले पनि पदत्याग गरेका छन्। सो समिति त्यहाँको संसद सरह रहने गरेको बताइएको छ। त्यसैगरी सन् उन्नाइस सय नब्बेदेखि चौरानब्बेसम्म प्रधानमन्त्री भएका अबु जायेद दोर्दाह लगायतका वरिष्ठ अधिकारीहरुले गद्याफीको सरकारमा रहेर काम गर्न नसक्ने बताएको समचारमा उल्लेख छ। बिहीवार दोस्रो उच्च पदस्थ एक अधिकारीले पनि आफू कर्णेल गद्याफीसँग काम गर्न इच्छुक नरहेको बताएका थिए।
पुर्व विदेशमन्त्री तथा संयुक्त राष्ट्र संघ महासभाका सभाध्यक्षका लागि लिवियाका तर्फबाट यस अघि नाम दिइएका अली अब्देस सलाम ट्रेकीले गद्याफी सरकारलाइ समर्थन नगर्ने घोषणा गरेका छन्। यसैबीच लिविया सरकारका प्रवक्ता मुस्सा इब्राहिमले विदेशमन्त्री कुस्साको राजिनामाको पुष्टि गरेका छन्। उनले मधुमेह र रक्त चापबाट ग्रसित कुस्सालाई उपचारका लागि ट्युनिसिया जान अनुमति दिइएको पनि बताए ।
यसैबीच अन्तर्राष्ट्रिय आक्रमणका बाबजुद पनि गद्याफी फौजले विद्रोही फौज विरुद्धको कारबाही अभियान तिब्र पार्दै लगेका छन्। गद्याफी फौजले बेग्रामा आफ्नो पकड स्थापित गर्न सफल भएको सञ्चार माध्यमहरुले जनाएका छन्। सो तटिय शहर विद्रोही फौजले यस अघि आफ्नो नियन्त्रणमा लिएका थिए।