प्रचण्डको प्रश्न – सहकारी ठगीमा जोडिएका सत्तापक्षीय नेतालाई किन छोइएन ?

 

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा दोषी देखिएका नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूलाई अनुसन्धानमा नल्याएकोप्रति आपत्ति जनाएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गमा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै दाहालले संसदीय समितिले दोषी ठहर गरेका कांग्रेस र एमालेका नेताहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा ‘गल्ती गर्नेको सूचीमा प्रचण्ड भेटिए पनि पक्राउ गर’ भनेर राज्यसंयन्त्रलाई निर्देशन दिएको दाबी गर्दै दाहालले भने, ‘हाम्रो स्पष्ट कुरा के हो भने दोषी कोही पनि नछुटोस, निर्दोष कोही पनि नपरोस् ।’

कतिपयले माओवादीको खबरदारी सभालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बचाउने सभाको रूपमा गलत व्याख्या गरेको उल्लेख गर्दै दाहालले दोषी सबै सजायको भागिदार हुनुपर्ने बताए ।

प्रचण्डले पछिल्लो समय सरकारले सार्वजनिक संस्थान निजी क्षेत्रलाई दिने तयारी थालेको खबर आएको उल्लेख गर्दै एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरिए नेपाली जनतालाई सैह्य नहुने बताए ।