अमेरिकाको फ्लोरिडा राज्यमा पादरीले कुरान जलाएको विरोधमा अफगानिस्तानमा प्रदर्शन, दश जनाको मृत्यु

गत महिना अमेरिकाको फ्लोरिडा राज्यमा अमेरिकी पादरीले मुस्लिम धर्मावलम्बीको पवित्र ग्रन्थ कुरान जलाएको विरोधमा अफ्गानिस्तानको कान्धाहारमा निस्केको जुलसले हिंसात्मक रुप लिएपछि दश जनाको मृत्यु भएको छ।

 

कुरान जलाएको विरोधमा अफ्गानिस्तान प्रदर्शन भैरहेका छन्। शुक्रवार कुरान जलाएको विरोधमा नै उत्तरी शहर मजारे शरिफस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा प्रदर्शनकारीहरुले आक्रमण गर्दा कम्तिमा ४ जना नेपाली सुरक्षागार्डसहित १४ जनाको मृत्यु भएको थियो। कान्धाहार शहरमा भएको प्रदर्शनमा हजारौ मानिसको सहभागिता रहेको छ।

 

प्रदर्शनकारीहरुले प्रहरीमाथि आक्रमण गरेपछि दुवैपक्षविच भिडन्त भएको थियो। प्रदर्शनकारीहरुले केही ब्यापारिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमाथि तोडफोड र आगजनी समेत गरेका छन्। प्रदर्शनकारी र प्रहरी विच भएको भिडन्तमा ७० जना भन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। कुरान जलाएको विरोधमा राजधानी काबूल र हेरात क्षेत्रमा पनि प्रदर्शन भएको छ।

 

प्रदर्शनमा विद्रोही तालिवानले पनि स्थानिय बाशिन्दालाइ सहयोग पुर्‍याएको अफ्गान सरकार र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आरोप लगाएको छ।