अवैध लागूऔषधसहित ७ जना पक्राउ

 

दाङ । तुलसीपुर उपमहानगरपालिका-८ दुधयानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई ३ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको थियो । साथै अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा घरमा लुकाई छिपाई राखेको थप २ हजार ३ सय ४० ट्याब्लेट फेला परेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २० वर्षीय सन्तोष शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-६ स्थित सेरा पुल नजिकै जंगलबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सागुरगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय बुद्धराज लिम्बु र ३० वर्षीय महा प्रसाद लिम्बु रहेका छन् ।

प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको को.३२ प १७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ८० मिलिग्राम सहित अछाम चौरपाटी गाउँपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ स्थित प्रियंका होटल संचालन गरी बस्ने ३६ वर्षीय विजय साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने ५६ वर्षीय भक्त बहादुर राईलाई अवैध लागूऔषध गाँजा ४१ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।