वासिङ्टन , चैत्र २२ – अमेरिकी राष्ट्रपति बाराक ओबामाले दोस्रो कार्यकालका लागि अर्को वर्ष हुने चुनाव लड्ने घोषणा गरेका छन् । आधिकारिक वेबसाइटमा एक भिडियो सार्वजनिक गरी २०१२ को चुनावी अभियान सुरु गर्दै उनको टिमले समर्थकलाई इमेल पठाएका छन् ।
उनको भिडियो युट्युबमा पनि राखिएको छ । दसौं लाख अमेरिकीबीच फैलिएको अनलाइन सञ्जाल र वेब-अभियान २००८ को चुनावी प्रचारमा निकै प्रभावकारी देखिएको थियो । सानो रूपमा भए पनि अभियान समयअनुसार बढ्ने ओबामाले बताएका छन् । ‘समर्थक संगठित गर्ने, छिमेकी साथी र सहकर्मीबीच बहसको सुरुवात हुनेछ,’ उनले भने । उनको टोलीले चुनावी कागजात यसै साता पेस गर्ने तयारी गरेको छ ।
‘जेका लागि मलाई चुन्नुभयो, मैले त्यसमा ध्यान केन्द्रित गर्नेछु, यो दौड एक वर्ष वा त्योभन्दा बढीसम्म पूरा गतिमा नपुग्न सक्छ, तर हाम्रो अभियानको आधार तय गर्ने काम अहिले नै सुरु गर्नुपर्छ,’ उनले भनेका छन् । नयाँ रूपमा सार्वजनिक भएको वेबसाइटमा ओबामाका समर्थकलाई भनेका छन्, ‘विगत चार वर्षमा गरिएका कामलाई सुधार गर्ने, नचाहिएको कुरा हटाउने र अभियानको निर्माण गर्ने जसमा अभियानलाई ऊर्जा दिने समर्थकको विचार र अनुभव प्रतिविम्बित हुनेछ ।’ – एजेन्सी