बंगलौर, चैत २२ (एजेन्सी)- भारतीय धर्मगुरु साई बाबाको अवस्था मंगलबार पनि चिन्ताजनक रहेको उपचारमा जुटेका चिकित्सकहरुले बताएका छन्। ८५ वर्षीय बाबालाई प्रशान्तिग्रामस्थित अस्पतालमा राखिएको छ।
मिर्गौलाको सञ्चालनमा सुधारका लागि गरिएको सीआरआरटीबाट कुनै सुधार नभएको चिकित्सकहरुले बताएका छन्।
सत्य साइ इन्स्टिचयुट अफ हाइअर मेडिकल साइन्सेजका निर्देशक डा. ए. एन. सफायाद्वारा आज जारी स्वास्थ्य बुलेटिनमा भनिएको छ- उनको मुटु पेसमेकरको सहायता र फोक्सो रेस्पिरेटरको सहायताले चलिरहेको छ।
उनको चेतनाको स्तरमा भने सुधार भएको विज्ञप्तिमा उल्लेख छ।
पुट्टपर्ती नगरमा निषेधाज्ञा-
यसैबीच प्रहरीले साइबाबाको आश्रम रहेको पुट्टपर्ती नगरमा निषेधाज्ञा जारी गरेपछि पूरै नगरमा कर्फ्युको जस्तो स्थिति देखिएको छ। त्यहाँका पसलहरु बनद छन् र सवारी साधनको आवागमनमा प्रहरीले कडा नियन्त्रण लगाएको छ। प्रहरीले बाबा उपचाररत अस्पताल जाने बाटोमा साइबाबाका भक्तहरुलाई भेला हुन अनुमति दिएको छैन।
अस्पताल वरपर पनि सुरक्षा व्यवस्था एकदमै कडा बनाइएको छ।