सत्य साइबाबाको स्थिती नाजुक/अन्तिम अवस्था रहेको चिकित्सकको दावी

भारतीय चर्चित आध्यात्मिक गुरु साइबाबा अन्तिम अवस्थामा पुगेका छन्। उनको उपचारमा संलग्न चिकित्सकहरुले उनी अन्तिम अवस्थामा पुगेको जानकारी दिएका एजेन्सीहरुले बताएका छन्। उनको उपचार आफैंद्वारा स्थापित सत्य साइ इन्ष्टिच्युट अफ हायर मेडिकल लर्निङमा भइरहेको छ।


उता उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनकै निवास पुट्टपर्तीमा हजारौं भेला भएका छन्। उनको उपचार भइरहेको स्थानमा पनि मानिस भेला भएर उनका लागि प्रार्थना गरिरहेका छन्। विश्वभरका सत्य साइ केन्द्रहरुले पनि उनको स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

८५ वर्षीय साइबाबालाई शरीरका धेरै अङ्गले काम गर्न छाडेपछि समस्या आएको थियो। खासगरी श्वास फेर्न समस्या भएकाले चैत १४ गते उनलाई भर्ना गरिएको थियो। उनको उपचारमा सहयोग पुर्‍याउन राज्य सरकारले भरमग्दुर प्रयास गरिरहेको छ। साथै अमेरिका, अष्ट्रेलिया जस्ता देशबाट समेत डक्टरहरु आउने क्रम जारी छ।


 


भेन्टिलेटरमा राखिएका उनलाई लगातारको प्रयासपछि पनि केही सुधारात्मक अवस्थामा ल्याउन नसकिएको डक्टरले बताएका छन्। उनका धेरै भक्तहरु बाबामा चामत्कारिक शक्ति रहेको विश्वास गर्छन्। विश्वभर उनका करिब ३ करोड भक्त रहेका अनुमान सञ्चार माध्यमले गर्दै आएका छन्।