यस वर्ष भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि

 

काठमाडौं । यस वर्ष तिहारमा भाई मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ ।

काठमाडौंको असनमा वर्षौंदेखि भाईमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाई मसलाको मूल्य बढेको बताएका हुन् ।

भाई मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य करिब ३० प्रतिशतले बढ्न गएको बताउनुभयो । उहाँले पाकिस्तान, भारतमा पनि बाढीको प्रभाव पर्न गएकाले पनि यस पालीको तिहारमा भाईमसलाको भाउ निकै बढेको आफूलाई लागेको बताउनुभयो । मूल्य बढेकाले यस पटक भाईमसला किन्नेहरुले पनि थोरै सामानहरु खरिद गर्ने गरेको पाइएको छ ।

यता, ग्राहकहरुले पनि यस वर्ष भाईमसलाको मूल्य धेरै बढेको प्रतिक्रिया दिएका छन् । उनीहरुले भाईमसलाको मूल्य अलि कम गरिदिन पनि व्यापारीहरुलाई आग्रह गरेका छन ।

भाइ मसला र यसको महत्व - Purwanchal Daily

बजारमा यस वर्ष प्रतिकेजी काजु २ हजार २००, बदाम एक हजार ७००, किसमिस ६००, कालोदाख १ हजार, ओखर ५५० खरिद मूल्य राखिएको छ । त्यसैगरी प्रतिकेजी ओखरगुदी १ हजार ५००, अनजिर २ हजार, २००, खुरपानी १०००, नरिवल ५५०, दाना मिश्री १८०, धागो मिश्री २००, मखना २ हजार दालचिनी ८०० मूल्य राखिएको छ । तर सबै सामग्रीमा करिब २५÷३० प्रतिशत मूल्य गत वर्ष भन्दा बढेको स्थाानीय व्यापारी बज्राचार्यको अनुभव छ । मूल्य बढेकाले व्यापार घटेको व्यापारी बताउँछन् ।

भाई मसलाको मूल्य बढेकाले यस वर्ष ग्राहकहरुको चहलपहल पनि कम भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।