अर्घाखाँची दुर्घटना अपडेट : दुई जनाको मृत्यु, १८ घाइते

 

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ। १८ जना घाइते भएका छन्।

भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना उदयठाटि अहिले बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको स्थानमा ना३ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताए।

भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका ग्रुपलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। घटनास्थलमै एक महिलाको मृत्यु भएको छ। उपचारका क्रममा २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको डीएसपी मल्लले बताए।

घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरी प्रमुख डिएसपी मल्लको भनाइ छ।

साविक खिल्जी र असुरकोटको सिमाना जयठाटीमा १५/१६ भैलोका समूह नाच्ने परम्परा रहेको स्थानीय गणेश प्रसाद भण्डारीले बताए। भैलो हेर्ने परम्परा अनुसार मानिसहरु त्यहाँ पुगेका थिए।

 

 

 

अन्य समाचारहरु