जापानमा महाभुकम्प र सुनामी गएको एक महिना नबित्दै अर्को शक्तीसाली भुकम्प, कम्तीमा दुइ जनाको मृत्य, दर्जनौ घाइते
चैत्र २५ गते, २०६७ मा प्रकाशित
जापानमा महाभुकम्प र सुनामी गएको एक महिना नबित्दै अर्को शक्तीसाली भुकम्प गएको छ। गत मार्च एघारमा गएको नौ रेक्टर स्केलको महाभुकम्प र सुनामीका कारण क्षतिग्रस्त भएको उत्तरपूर्वी तटिय इलाकामा हिजो सात दशमलब एक रेक्टर स्केलको भुकम्प गएको छ। गत महिना गएको शक्तीसाली महाभुकम्प र सुनामीका कारण करिब पच्चिस हजार मानिसको मृत्यु भएको थियो भने हजारौ मानिस घरबार विहीन भएका थिए।
भुकम्प र सुनामीले क्षतिग्रस्त बनेको फुकुसिमा दाइचीस्थित परमाणु संयन्त्रका कारण हाल पनि परमाणु जोखिम कायमै रहेको छ। पछिल्लो भुकम्पका कारण कम्तीमा दुइ जनाको मृत्य हुनाका साथै दर्जनौ घाइते भएको बताइएको छ। जापानको मौसमविज्ञान विभागले भुकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी गरेको भए पनि पछि सुनामीको चेतावनी स्थगन गरेको थियो।
पछिल्लो भुकम्पको धक्काले गत महिना गएको भुकम्प र सुनामीका कारण विस्थापित भएका मानिसलाई थप त्रसित र भयभित बनाएको छ। भुकम्प र सुनामीका कारण क्षतिग्रस्त भएको फुकुसिमा दाइचीस्थित परमाणु संयन्त्रमा भने पछिल्लो भुकम्पले असर नगरेको सञ्चालकहरुले बताएका छन्।