एमाले-कांग्रेसले बनाए ८ सदस्यीय संयन्त्र, सरकारलाई सघाउने

 

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन ८ सदस्यीय संयन्त्र बनाएका छन् ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा रहेका छन् ।

त्यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल संयन्त्रमा रहेका छन् ।

एमाले-कांग्रेसले सरकारलाई सफल बनाउन केन्द्रमा मात्रै नभएर प्रदेश र जिल्ला तहमा समेत संयन्त्र बनाउने बताएका छन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रभावकारी रुपमा सरकार सञ्चालन गर्न र सफल बनाउनका लागि संयन्त्र बनाएको बताइएको छ । ओली नेतृत्वको वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेकोमा आलोचना बढ्दै गएपछि संयन्त्र बनाइएको बताइएको छ ।