काठमाडौं – नयाँ वर्ष २०६८ को स्वागत र शुभकामना । नयाँ वर्ष २०६८ सालको अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना हुँदैछन् भने सरकारले सार्वजनिक विदा दिएको छ ।
नयाँ वर्ष २०६८ सालको अवसरमा प्रधानमन्त्री झलनाथ खनालले शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले भनेका छन्-
राजनीतिक गतिरोध र उथलपुथलपूर्ण वर्षका रुपमा वि.सं. २०६७ साल हामी सबैबाट विदा भएको छ । र, हामी अपार सम्भावना र चुनौतिको नयाँवर्ष-२०६८ मा प्रवेश गरेका छौं । सर्वप्रथम म यस सुखद अवसरमा देशभित्र र प्रवासमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नयाँवर्ष-०६८ ले मुलुकमा उन्नत सहमति, एकता र सहकार्यको राजनीतिक संस्कार अवलम्बन गर्न सबै प्रमुख र अन्य दलहरूलाई प्रेरित गर्नेछ । त्यसको जगमा शान्तिप्रक्रियालाई पूर्णता प्रदान गरी नयाँ संविधान जारी गर्न हामी नेपालीहरू सफल हुनेछौं । खासगरी ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न तथा मुलुकलाई शान्ति, संविधान र समृद्धिको दिशामा निणर्ायक ढंगले अघि बढाउन नयाँवर्ष कोसेढुंगा सावित हुनेछ । मेरो नेतृत्वको सरकार अर्जुनदृष्टिकासाथ शान्ति र संविधान निर्माणको प्रक्रियामा नै केन्दि्रत रहेकोछ । र, मुलुकबाट गरिबी, बेरोजगारी, शोषण, उत्पीडन, अविकास र विभेदको दुष्चक्र तोडेर आर्थिक क्रान्तिको प्रक्रियालाई अगाडि बढाउन हामी सक्षम हुनेछौं । यसरी नेपाली इतिहासमा ०६८ साल जनताको निणर्ायक सफलता र विजयको वर्षका रुपमा अंकित हुनेछ भन्ने म हार्दिक अपेक्षा र विश्वास व्यक्त गर्न चाहन्छु ।
यतिबेला मुलुक संक्रमणकालको अन्तिम चरणमा उल्लिखित सफलताहरू हासिल गर्न अग्रसर छ । त्यस निम्ति सम्पूर्ण देशवासी र प्रवासी नेपालीहरूलाई नयाँवर्षले विशेष प्रेरणा दिनेछ । म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, अन्तर्राष्ट्रिय समुदायलगायत सबैमा पुनः उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु ।
१ बैशाख २०६८
(झलनाथ खनाल)
प्रधानमन्त्री
‘सबैले जिम्मेवारी बुझ्नुपर्छ’
कांग्रेस सभापति सुशील कोइरालाले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना दिँदै शान्ति प्रक्रिया टुंगोमा पुर्याउन सबैले आफ््नो जिम्मेवारी बोध गर्नुपर्ने धारणा राखेका छन् । नेपाली जनताको चाहना दिगो शान्ति, समुन्नत र समृद्ध राष्ट्र निर्माण रहेको उल्लेख गर्दै कोइरालाले सन्देशमा भनेका छन्, ‘यस लक्ष्य सफल बनाउन सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीको सहयोग, एकता र दृढ संकल्पको खाँचो छ ।’
नववर्षमा ‘सम्पूर्ण नागरिकले जीउधनको सुरक्षा, प्रेस स्वतन्त्रता, मानव अधिकारको संरक्षण, स्वतन्त्र न्यायपालिकाको अनुभूति, दण्डहीनता अन्त्य र जबर्जस्ती कब्जा सम्पत्ति फिर्ता र द्वन्द्वपीडित एवं विस्थापितहरू पुनःस्थापना’ जस्ता समस्या समाधानको अनुभव गर्न पाइयोस् भन्ने कामनासमेत गरेका छन् ।
त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले नयाँ वर्ष इतिहासकै एउटा महत्त्वपूर्ण र ऐतिहासिक दायित्वका साथ प्रारम्भ हुँदै गरेको उल्लेख गर्दै ऐतिहासिक जनआन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने दिशामा २०६८ साल चुनौतीपूर्ण रहेको बताएका छन् ।