बुटवलमा प्रहरीद्वारा गुडिरहेको बसमा बम विस्फोट गराउनेहरु तीन जनालाई पक्राउ

बुटवल – रुपन्देही प्रहरीले गुडिरहेको माइक्रोबसमा बम विस्फोट गराउने तीन जनालाई बुधबार सार्वजनिक गरेको छ ।

घटना पश्चात लुम्बिनी अञ्चल प्रहरी प्रमुख प्रकाश अर्यालको संयोजकत्वमा गठित अनुसन्धान समितिले विभिन्न खोजविन पछि पक्राउ गरी बुटवलमा सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक हुन् भने अन्य दुई जना रुपन्देहीका युवा हुन् ।

घटनामा संलग्न भारतको नौतनवा स्थायी घर भएका ४० वर्षीय इस्लाम मुसलवान,रुपन्देहीको बोगडीका २६ वर्षीय प्रशान्त पाण्डे र रुपन्देहीको सक्रौनपकडीका १९ वर्षीय राजकुमार चौहान छन् ।

उनीहरु तीनै जना अखिल तराई मुक्ति मोर्चा भगत सिंह समुहमा आवद्ध रहेको खुलेको छ ।  टाइम बम सहितको झोला भैरहवा बसपार्कबाट गाडिमा राखेका उनीहरु विच वाटोवाटै फरार भएका थिए ।

भारत नौतनवा घर भएका मुसलवान सहितको टोलीले भारतीय वाटो हुँदै भैरहवा बसपार्कमा बम ल्याएको अनुसन्धानबाट खुलेको अञ्चल प्रहरी प्रमुख अर्यालले बताए । उनीहरु रुपन्देही जिल्ला आसपासमा भएका विभिन्न अपराधिक घटनामा पनि संलग्न रहेको स्वीकार गरेको रुपन्देही जिल्लाका प्रहरी प्रमुख शेर वहादुर बस्नेतले बताए ।

घटनामा संलग्न घनश्याम यादव र मक्सुद मुसलवान फरार  छन् । उनीहरुको पनि खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । चैत्र १३ गते भएको वम विष्फोटमा बसमा सवार दुई जना यात्रुको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए ।

घाइते मध्ये १० जनाको अहिले पनि बुटवल, चितवन र काठमाडौंमा उपचार भइरहेको छ । विष्फोटबाट लु १ ख ३६६६ नम्वरको बुटवल भैरहवा सडक खण्डमा चल्ने माइक्रोबस पूर्ण रुपमा क्षतिग्रत भएको थियो ।