पाँचथर – पाँचथरको याङनाम-४ की एक १० वर्षीया बालिका स्थानीय युवकद्वारा बलात्कृत भएकी छिन् । स्थानीय १९ वर्षीय प्रकाश एकतेन (लिम्बू)ले बालिकालाई शुक्रबार अपरान्ह घरमै जबरजस्ती करणी गरेका हुन् ।
प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी स्थानीय सिद्धदेवी निमाविमा चार कक्षामा पढ्ने बालिकालाई बलात्कार गरिएको थियो । बलात्कारका कारण मुर्छित रहेकी बालिकाको योनीबाट रगत बग्न नरोकिएपछि उपचारार्थ शुक्रबार राति नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
आमासहित परिवारका अन्य सदस्य आलु खन्न गएका बेला सोही गाउँका एकतेनले बलात्कार गरेका हुन । साँझ घर फर्किंदा बालिका रगतपच्छे भएको पाएपछि स्थानीय पारालिगल कमिटीमा रहेका महिलाहरुको सकृयतामा शंका लागी एकतेनलाई नियन्त्रणमा लिइएको थियो ।
पारालिगल अध्यक्ष मधु जवेगूका अनुसार एकतेनले महिलाहरुसित बालिकालाई आफूसहित चारजनाले बलात्कार गरेको स्वीकार गरेका छन् । उनीहरुले अभियुक्तलाई प्रहरी चौकीमा बुझाएका छन् । पीडकलाई बुझाएर निवेदन दिन लाग्दा गाउँमै मिलाउन दबाब दिंदै स्थानीय युवाहरुले घेराउ गरेको जवेगूले बताइन ।
प्रहरीले अभियुक्त एकतेनलाई जिल्ला प्रहरीमा ल्याई अनुसन्धान थालेको छ । प्रहरी निरीक्षक गीतनारायण चौधरीले अभियुक्तलाई जबरजस्ती करणी अन्तर्गत मुद्दा चलाइने बताए ।