वीरगन्ज – एमाले निकट युवा संघका केन्द्रीय सचिवालय सदस्य अनिरुद्ध रावले सोमवार विष सेवन गरी आत्महत्या गरेका छन् ।
एमालेको पर्सा जिल्ला सदस्य समेत रहेका ४१ वर्षीय रावले साँझ ४ बजे विष सेवन गरेको प्रहरीले जनाएको छ । आदर्शनगरमा रहेको युवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका रावले आफ्नै कार्यकक्षमा विष सेवन गरेका थिए ।
अध्यक्षलाई अचेत अवस्थामा देखेपछि कर्मचारीहरुले नारायणी उपक्षेत्रिय अस्पताल पुर्याएका थिए । बाटोमै मृत्यु भइसकेको उपचारमा संलग्न चिकित्सकले जनाए । पोस्टमार्टमका लागि शव अस्पतालमा राखिएको छ ।
पर्साको पिपरा निवासी रावका दुई छोरा र एक छोरी रहेको पारिवारिक सदस्यले जनाएका छन् । पारिवारिक कलहका कारण आत्महत्या भएको हुनसक्ने पारिवारिक श्रोतको दाबी छ ।