पूर्वमुख्यसचिव अर्यालले दिए राजीनामा

 

काठमाडौं । पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर गरेलगत्तै मुख्यसचिव एकनारायण अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन् ।

भ्रष्टाचार मुद्दामा सफाइ पाएका अर्यालले आइतबारमात्र रमानापत्र अनुसार राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रुपमा हाजिर भएका थिए ।

अन्तःशुल्क स्टिकर छपाइमा भएको भ्रष्टाचारमा संलग्न भएको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा दायर गरेको मुद्दामा अर्यालले कात्तिक १४ मा विशेष अदालतबाट सफाइ पाएका थिए ।

विशेष अदालतले उनलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो । उनलाई भ्रष्टाचार मुद्दा दर्ता भएपछि मन्त्रिपरिषद्ले योजना आयोगमा विशिष्ट श्रेणीको पद सिर्जना गरेर सरुवा गरेको थियो ।