मंसिर ८ र ९ गते वुमन अफ द वर्ल्ड महोत्सव हुदै, सहभागी हुन उपप्रमुख डंगोलको आव्हान

 

काठमाडौँ । काठमाडौँको नक्साल नन्दीकेशर वगैँचा (नारायण चौर) मा मंसिर ८ र ९ गते विश्व महिला, नेपाल (वुमेन अफ द वर्ल्ड–वाउ), को सातौँ संस्करण आयोजना हुँदैछ ।

महिला, बालिकाहरु र नन-बायनेरी (गैर–द्वायसांख्यिक) व्यक्तिले भोगिरहेका समस्या समाधान गर्न आपसी सिकाइ र भोगाइबाट उपाय खोज्ने प्रयासका लागि ब्रिटिस काउन्सिलले काठमाडौँ महानगरपालिका र द वाउ फाउन्डेसन, बेलायतसँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा प्रवेश निःशुल्क हुनेछ । महोत्सवमा कथा घेरा थिएटर, कर्णाली कला केन्द्र, गायिका कुन्ती मोक्तान, गायिका सुवानी मोक्तान, गायिका रचना दाहाल, चलचित्रकर्मी गौमाया गुरुङ्सहित २ सयभन्दा धेरै महिला कलाकारले प्रस्तुति गर्ने बताइएको छ ।

२ दिन चल्ने महोत्सवमा विहान योग र आत्मरक्षा सम्बन्धी क्रियाकलाप हुनेछन् । दिनमा चलचित्र प्रदर्शनी, कार्यशाला, अन्तरक्रियात्मक छलफल र संवाद, परामर्श सत्रहरु, प्रदर्शनी हुनेछन् । महोत्सवमा महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’ न्यायिक सहजकर्तामार्फत कानुनी परामर्श प्रदान गर्नेछ । खाना स्टल, गीत, संगीत, गायन, नृत्य तथा कला प्रस्तुतिसँगै बालबालिकाका लागि विशेष खेल र मनोरञ्जनात्मक कार्यक्रम महोत्सवका आकर्षण हुनेछन् । अल्पसंख्यक कलाकार तथा वक्ताहरुलाई समावेशी तथा लैङ्गिक क्षेत्रमा गरेका कामका विषयमा प्रस्तुति गर्न, जानकारी दिन, सोच प्रदर्शन तथा धारणा राख्नका लागि अवसर दिइनेछ ।

काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले महोत्सवमा सहभागी हुन आव्हान गरेकी छन्  ।

महोत्सवमा जलवायु परिवर्तन, खेलकुद, आमसञ्चारलगायत विभिन्न पेशामा महिलाको भूमिका र पहिचानका विषय समेटिने र लैङ्गिक मुद्दामा महिला र बालिकाहरुको क्षमता वृद्धि गर्ने महिला नेतृत्वमा प्राप्त महत्वपूर्ण उपलब्धी र उपलब्धी हासिल गर्दाका प्रयत्नका विषयमा उत्प्रेरणात्मक सत्र चल्ने उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।