काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत लगिँदै छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहनुभएका लामिछानेलाई म्याद थपका लागि चौथो पटक कास्की जिल्ला अदालत लगिने भएको हो ।
सहकारीको रकम ठगी र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रवार सकिएकाले उनलाई पुनः म्याद थपका लागि अदालत पेश गरिँदैछ ।
काठमाडौं र चितवनबाट पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थपेर उनलाई काठमाडौँ र चितवन लैजाने तयारी गरिएको छ ।
रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत लगिँदैछ । लामिछाने कार्तिक २ गते शुक्रबार काठमाडौँबाट पक्राउ परेका थिए भने उनलाई शनिबार ३ गते बिहान कास्की लगिएको थियो ।
यस अवधिमा लामिछानेलाई बयानका लागि रुपन्देहीसमेत लगि सकिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा लामिछानेलाई चार दिनसम्म बयान लिइएको थियो ।