इटहरी, सुनसरी – सुनसरी इटहरी-५ मा मकालु टेलिभिजनका दुई सञ्चारकर्मीमाथि अज्ञात समुहले आक्रमण गरेका छन् ।
दुई जनाले टेलिभिजनका क्यामरापर्सन बासु पौडेल र समाचारवाचिका पवित्रा पाण्डेलाई इटहरीस्थित मेचीकाली लेकसाइड होटलमा आक्रमण गरेको टेलिभिजनद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । जिल्ला रिर्पोटर भेलामा सहभागी भएर मोटरसाइकलमा कार्यालयतर्फ फर्कने क्रममा उनीहरुलाई आक्रमण भएको हो ।
आक्रमणबाट घाइते पौडेलको टाउकोमा चोट लागेको छ । उनको न्यूरो हस्पिटल विराटनगरमा उपचार भइरहेको छ । पाण्डेको खुट्टामा चोट लागेकोछ । पत्रकार महासंघ सुनसरीले विज्ञप्ती जारी गरी घटना बिषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।
सचिव अमर खड्काद्वारा जारी विज्ञप्तीमा संचारकर्मीउपर भएको आक्रमण स्वतन्त्र प्रेस माथिको ज्यादती भएको उल्लेख गर्दै दोषी पहिचान गरी कडा कारवाही गर्न माग गरिएकोछ ।
यस्तै, सुनसरी इटहरीस्थित इटहरी चिल्ड्रेन डे केयर होममा शुल्क बृद्धि विषयमा आन्दोलित अभिभावक र विद्यालयको रिपोर्टिङ गर्न गएका बेला बैशाख-५ गते पत्रकार मनोज भुजेल र एभिन्युजका क्यामरापर्सन दीपक कार्कीलाई दुर्व्यवहार गर्ने स्कुल सञ्चालिका मिना शेर्पा र शिक्षक आश्वीन खनाललाई विना कारवाही प्रहरीले छाडेको छ ।
इलाका प्रहरी इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाले सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया समक्ष मुद्धा पेश गरी सादा तारेखमा छाडेकोमा महासंघले खेद व्यक्त गरेको छ ।