केही मुलुकमा देखिएको राजनीतिक अस्थिरता र असुरक्षाका कारण वैदेशिक रोजगारीमा जानेको संख्यामा स्थिर

काठमाडौं – रोजगार गन्तव्य केही मुलुकमा देखिएको राजनीतिक अस्थिरता र असुरक्षाका कारण चैतमा वैदेशिक रोजगारीमा जानेको संख्यामा स्थिर रहेको छ ।

यस आर्थिक वर्षको सुरुमा अत्यधिक मात्रामा बिदेसिनेको संख्या बढे पनि मध्यपूर्वको अस्थिरताले केही महिनायता वैदेशिक कामदारलाई हच्काएको छ । फलस्वरूप अघिल्लो चैतमा भन्दा यसपालि ५१ जना मात्र बढी कामदार बिदेसिए । गत आवको चैतमा २९ हजार ५ सय ५५ जना बिदेसिएका थिए । यस चैतमा २९ हजार ६ सय ६ काम गर्न बिदेसिए ।

मध्यपूर्वमा बिदेसिनेको वृद्धिदर घटे पनि अन्य देशमा जाने कामदारको संख्या भने आघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै २० प्रतिशतले बढेको छ । ‘केही महिनादेखि मध्यपूर्वमा देखिएको राजनीतिक अस्थिरताले बिदेसिने कामदारको वृद्धिदर विस्तारै घटिरहेको छ,’ विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘मलेसिया र कतारमा भने कामदारको माग लगातार बढिरहेको छ ।’

राजनीतिक अस्थिरता र असुरक्षाले लिबिया, बहराइन र ओमानबाट कामदार फर्किएकाले असर परेको हो । नयाँ कामदार जान कम भएकाले अघिल्ला महिनामा जस्तो वृद्धिदर कायम नभएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्षका पहिलो नौ महिनामा बिदेसिनेको कुल संख्या भने गत आवको तुलनामा बढेको छ । ‘चालू आर्थिक वर्षको पहिलो नौ महिनामा २ लाख ४० हजार कामदार बिदेसिए,’ विभागको तथ्यांकमा छ, ‘गत वर्ष यही अवधिमा २ लाख युवा काम खोज्दै बिदेसिएका थिए ।’ विभागका यस वर्ष पुस महिनामा सबैभन्दा बढी ३० हजार ४ सय ८५ युवा बिदेसिए ।  

चालू आवको पहिलो नौ महिनामा सबैभन्दा बढी कामदार मलेसिया गएका छन् । यस अवधिमा ८० हजार ३ सय ७० कामदार मलेसिया गए । गत वर्षको यस अवधिमा ६८ हजार ८ सय ७६ मलेसिया गएका थिए । दोस्रो गन्तव्य मुलुक कतारमा काम गर्न जानेको संख्यामा पनि उच्च वृद्धि भएको छ । २०२२ मा हुन लागेको विश्वकपका लागि पूर्वाधार निर्माणको काम तीव्र भएकाले ४२ हजार ५ सय ३५ बाट बढेर ६५ हजार ३ सय ६५ कामदार कतार गए ।

साउदी अरब जाने कामदार ४४ हजार २ सय ८१ बाट बढेर ४६ हजार ९ सय ६ पुगेका छन् । संयुक्त अरब इमिरेट्स जाने कामदारको संख्या २५ हजार ६ सय २८ बाट बढेर २९ हजार १ सय ९ जना पुगेका छन् ।

विभागका अनुसार चालू आवको पहिलो नौ महिनामा १ लाख ७९ हजार कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर गएका छन् । तिनमा १ लाख ७७ हजार पुरुष र २ हजार महिला छन् । यस्तै व्यक्तिगत श्रम स्वीकृति लिने ६१ हजारमा ५७ हजार पुरुष र ४ हजार महिला छन् ।