अमेरिकाको अर्कान्सास राज्यमा आँधीका कारण दश जनाको मृत्यु, मिसौरीमा सत्र हजार मानिस विस्थापित

अमेरिकाको अर्कान्सास राज्यमा आँधी र विषम मौसमका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ। अमेरिकाको दक्षिणी, मध्य र पूर्वि क्षेत्र २ साता देखि आँधी लगायत विषम मौसमको चपेटामा पर्दै आएको छ।

 

स्थानिय प्रहरीले विषम मौसमको चपेटामा आएर मध्य अर्कान्सासमा १ जनाको मृत्यु भएको जनाएको छ। यसैगरी राज्यको उत्तर पश्चिमी क्षेत्रमा ५ जनाको मृत्यु भएको छ। बाढीले कार बगाएपछि ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ। भिषण वर्षा समेत भएको हुनाले राजमार्गमा समेत बाढीको पानी प्रवेश गरेको छ।

 

यसैगरी हावा हुन्डरीको चपेटामा आएको एक सानो शहरमा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अमेरिकी मौसम विभाग नेशनल वेदर सर्भिसले टेन्नेसी, अर्कान्सास र टेक्सास राज्यमा विषम मौसमको खतरा विद्यमान रहेको चेतावनी जारी गरेको छ।

 

उता मिसौरीमा बाढीका कारण १७ हजार बाशिन्दालाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिनूपर्ने अवस्था आइलागेको उद्धारकर्मीहरुले बताएका छन्।