विपिन जोशी जीवितै छन् : इजरायल

 

काठमाडौँ — प्यालेस्टिनी समूह हमासले १४ महिनादेखि बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशी जीवितै रहेको इजरायलले जनाएको छ । नेपालका लागि नवनियुक्त इजरायली राजदूत शमुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेको सूचना पाएको बताएका हुन् ।

‘अरबी देशको स्रोतबाट नेपाली विद्यार्थी विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौं,’ वासले बिहीबार काठमाडौंमा पत्रकारहरुसँगको भेटमा भने, ‘हाम्रा लागि विपिन निकै महत्वपूर्ण छन् । उनी छिट्टै काठमाडौं फर्किनेछन् ।’

विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई | Nagarik News

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो ।

राजदूत वासले विपिनलाई राखिएको ठाउँ भने अझै पहिचान भइनसकेको बताए ।

हमासले विपिनसहित २ सय ५१ जनालाई बन्धक बनाएर गाजा क्षेत्र लगिएको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा गरिएको थियो भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो । बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ ।

इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाईका लागि पहल भइरहेको राजदूत वासले ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनुअघि इजरायल र हमासबीच युद्धविराम सम्झौता गर्ने प्रयास भइरहेको छ । यसका लागि कतारले पुनः इजरायल र हमासबीच मध्यस्थता गर्ने बताइएको छ । दुवै पक्षले वार्तालाई निचोडमा पुर्‍याउन चासो नदेखाएको भन्दै कतार एक महिनाअघि नै मध्यस्थताको भूमिकाबाट बाहिरिएको थियो ।

-कान्तिपुर / एनके