काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले लामिछानेप्रति सरकारको कुनै प्रतिशोध नरहेको भन्दै लामिछानेमाथि भइरहेको अनुसन्धानका क्रममा कुनै अमानवीय व्यवहार नभएको बताएका हुन् ।
उनले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी प्रकरणमा राज्यका निकायले अनुसन्धान गरिरहेको बताए । कानुन अनुसार भइरहेको अनुसन्धानमा प्रश्न उठाउनु अनुसन्धानलाई प्रभावित गर्ने कार्य भएको उनको भनाइ छ ।
लेखकले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धि तर्फ अघि बढाउन ठूला दलहरू एक भएर सरकार बनाउनुपरेको बताए । सरकारको स्थायित्व कमजोर भएको र देश झन् समस्यामा परेकाले देशलाई स्थिरतातर्फ लैजाने एमाले–काँग्रेसको ध्येय रहेको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले अहिलेको व्यवस्थालाई थप बलियो र सुदृढ बनाउनका लागि संविधान संशोधनको तयारी भइरहेको र यसका लागि सबै दलसँग छलफल गरिने स्पष्ट पारे । उनले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नभएको भन्दै २०८४ सालसम्म दुई दलीय सहमतिअनुसार अघि बढ्ने उल्लेख गरे ।