-गोपाल प्रसाद भट्टराई, पौष–०३,अर्घाखाँची।
अर्घाखाँची – इजरायलले प्यालेस्टाइनी नागरिकमाथि गरेको नरसंहारका बिरुद्ध अर्घाखाँचीमा पनि ६ दलले हस्ताक्षर अभियान संचालन गर्नेभएका छन् ।
गत सोमबारबाट प्यालेस्टीनी माथि इजरायली नरसंहार विरूद्ध देशव्यापी सुरु भएको हस्ताक्षर अभियानको अर्घाखाँचीका ६ वटा राजनितिक दलले पनि समर्थन गर्दै यहाँपनि अभियान संचालन गर्ने निर्णय गरेका हुन् । इजरायली कदमको बिरोध र हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउन बुधबार राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.को अध्यक्षतामा अर्घाखाँचीमा संयुक्त बैठक समेत बसेको छ ।
बैठकमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार वि.क.किशोर, जिल्ला संयोजक राजेन्द्र भुसाल, एकिकृत समाजवादीका जिल्ला सचिव युवराज पौडेल, नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल, क्रान्तिकारी कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली र नेकपाका जिल्ला सदस्य प्रवास लगायतको उपस्थिति रहेको थियो ।
बैठकले पौष ७ गते सन्धिखर्कमा संयुक्त सभा गरि हस्ताक्षर अभियानको शुभारम्भ गर्ने, पौष १० गते शितगंगामा माओवादी केन्द्र, पाणिनीमा एकिकृत समाजवादी र छत्रदेवमा नेकपाको नेतृत्वमा हस्ताक्षर संकलन अभियान चलाउने निर्णय गरेको छ ।
यस्तै पौष १२ गते मालारानीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी र पौष १५ गते भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाको नेतृत्वमा अभियान संचालन गरिने बैठकपछि राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभएको छ । यसरी संकलित हस्ताक्षर संयुक्त राष्ट्रसंघमा पठाइने नेताहरुले बताएका छन् ।
इजरायलद्वारा प्यालेस्टाइन माथिको ज्यादतीका विरुद्ध विगतदेखि नै विश्वव्यापी रूपमा आवाज उठ्दै आएपनि अहिले फेरि भएको बरर्बताको बिरुद्ध आफुहरु एक ठाउँमा उभिएको यि दलका नेताहरुले बताएका छन् । अमानवीय ढंगले आक्रमण गरी हत्या गरेकोमा सबैले आवाज उठाउनुपर्ने बैठकको निष्कर्ष रहेको छ ।