क्यान्सरविरुद्धको खोप विकास गरेको रुसको घोषणा

 

मस्को –रुसले क्यान्सरविरुद्धको खोप बनाएको घोषणा गरेको छ ।

रुसी स्वास्थ्य मन्त्रालयले क्यान्सरको खोप विकास गरेको र आगामी वर्षदेखि विरामीहरुलाई निशुल्क उपलब्ध गराउने बताएको हो ।

शुरुवाती चरणमा क्यान्सरका विरामीहरुको उपचारका लागि खोप उपलब्ध गराउने पनि रुसी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रुसको स्वास्थ्य मन्त्रालय अन्तर्गतको रेडियोलोजी मेडिकल अनुसन्धान केन्द्रका महानिर्देशक एन्ड्री क्याप्रिनले रुसी वैज्ञानिकहरुले आफ्नै आरएनएसहितको क्यान्सर विरुद्धको खोप विकास गरेको बताउनु भएको रुसी समाचार एजेञ्सी तासले जनाएको छ ।

गामालेया नेशनल रिसर्च सेन्टर फर इपिडीमियोलोजी एण्ड माइक्रोबायोलोजीका निर्देशक अलेक्ज्याण्डर गिन्टस्बर्गले खोपको परीक्षणबाट ट्युमरलाई नियन्त्रण गरेको र क्यान्सरका कोष विस्तार रोकिएको दाबी गरेका छन् ।

कुन चरणको वा कस्तो खालको क्यान्सरको उपचारमा यो खोप प्रयोग हुने भन्ने केही खुलाइएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महिना अघि नै आफ्नो देश क्यान्सर विरुद्धको खोप विकासको अन्तिम चरणमा पुगेको बताउनु भएको थियो ।

-एजेन्सी