आतंकवादी सञ्जाल अल काइदाका नेता बिन लादेनको मृत्यु आतंकवाद विरुद्धको अभियानमा महत्वपूर्ण घटना र कोशेढुङ्गा भएको चीनको प्रतिक्रिया

– पूर्ण बस्नेत

 

हङकङ – चीनले अन्तर्राष्ट्रिय आतंकवादी सञ्जाल अल काइदाका नेता बिन लादेनको मृत्यु आतंकवाद विरुद्धको अभियानमा ‘महत्वपूर्ण घटना र कोशेढुङ्गा’ भएको जनाएको छ। अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा अमेरिकी सेनाको आक्रमणमा लादेनको मृत्यु भएको घोषणा गरेको करिब २४ घण्टापछिमात्र बेइजिङको औपचारिक प्रतिक्रिया आएको हो।

 

चीन सबै प्रकारका आतंकवादविरुद्ध रहेको जनाउँदै विदेश मन्त्रालयकी प्रवक्ता जिङ युले भनिन, “अन्तर्राष्ट्रिय आतंकवादविरोधी लडाइँमा बिन लादेनको मृत्यु एउटा कोशेढुङ्गा र सकारात्मक प्रगती हो।” सोमबार राति बेइजिङमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रवक्ता युले थपिन, “चीन आफैँ पनि आतंकवादबाट पीडित छ र आतंकवादविरोधी अन्तर्राष्ट्रिय युद्धमा सक्रियरुपमा सहभागी हुन्छ।”


राष्ट्रपति ओबामाले लादेनको मृत्यु भएको घोषणा गर्दै आइतबार राति ह्वाइटहाउसबाट ‘शान्ति र मानव प्रतिष्ठामा विश्वास गर्ने सबैले उनको मृत्युलाई स्वागत गर्नुपर्ने’ बताएका थिए। त्यसलगत्तै थुप्रै राष्ट्र तथा सरकार प्रमुखहरूले लादेनको मृत्युको स्वागत गर्दै अमेरिकालाई बधाई दिएका थिए।


केही चिनियाँ विश्लेषकहरूले सोमबार सरकारी सञ्चार माध्यममा लादेनको मृत्युप्रति संसय जनाउँदै पाकिस्तानको संलग्नता बिना अमेरिकी आक्रमण हुन नसक्ने तर्क गरेका थिए। मुस्लिम राष्ट्र पाकिस्तान दक्षिण एसियामा कम्युनिष्ट चीनको महत्वपूर्ण रणनीतिक साझेदार मानिन्छ। इस्लामावादको जानकारी बिना अमेरिकी सेनाले लादेनको कम्पाउण्डमाथि आक्रमणमा गरेको खबर बेइजिङका सुरक्षा अधिकारीहरूका लागि सम्भवतः अनपेक्षित घटना थियो।


आफ्नो भूमि आतंककारीहरूको आश्रयस्थल बनेको भन्ने अमेरिकी आरोपलाई लामो समयदेखि अस्वीकार गर्दै आएको पाकिस्तानले यस क्षेत्रबाट सेना फिर्ता लैजान अमेरिकासँग माग राख्दै आएको थियो। अफगानिस्तान र पाकिस्तानमा पहिलेदेखि नै विकास परियोजनामा आर्थिक लगानी गर्दै आएको चीन अमेरिकी सेना फर्किएपछि यसमा वृद्धि गरी दक्षिण एसियामा आफ्नो पकड अझ् बलियो बनाउने तयारीमा छ।


लादेन मारिनु अघिल्लो दिन शनिबार पनि पाकिस्तान र चिनियाँ विदेशमन्त्रीले तीन महिनापछि यस क्षेत्रबाट अमेरिकासहित नेटो राष्ट्रका सेना फर्किने क्रम सुरु भएपछि कसरी साझेदारीलाई बलियो बनाउने भन्नेबारे एक महत्वपूर्ण वार्ता गरेका थिए। पहिलेदेखि नै तनावपूर्ण सम्बन्ध रहेका अमेरिका-पाकिस्तानबीच को सम्बन्धले यो घटनापछि कस्तो मोड लिन्छ भन्ने स्पष्ट भैसकेको छैन। बेइजिङले चाहीँ पाकिस्तानसँगको सम्बन्ध अझै कसिलो बनाएर क्षेत्रीय स्थिरताका लागि थप प्रयास गर्ने संकेत दिएको छ।