– एजेन्सीहरू
वासिङटन डिसी – टाइम म्यागेजिनका संवाददाता टोनी क्यारन २००१ डिसेम्बरमा दक्षिण अफ्रिका घुम्न जाँदै थिए। सम्पादकले भने, ‘बिदामा बस्नुअघि ओसामा बिन लादेनको अबिच्युरी (समवेदना-लेख) लेखेर जानू।’
उनलाई डर थियो, कतै टोनी केपटाउनको समुद्री तटमा सयर गरिरहेका बेला अफगानिस्तानमा अमेरिकी सेनाको आक्रमणबाट लादेन मारिए भने! सम्पादकले भनेअनुसार लादेनको अबिच्युरी लेखेर टोनी छुट्टी मनाउन निस्के। तर, त्यो लेख पाठकसम्म पुग्न १० वर्ष लाग्यो। त्यो पनि उनकै संस्मरणका रूपमा मात्र।
सोमबार बिहान पाकिस्तानको एबट्टाबादको एउटा सुरक्षित र सुविधासम्पन्न घरमा अमेरिकी सेनाले गरेको आक्रमणमा अमेरिकाका ‘मस्ट वान्डेट आतंकवादी’ ओसामा बिन लादेन मारिए। त्यसलगत्तै टोनीले टाइम डट कममा आफूले दस वर्षअघि लेखेको अबिच्युरीका अंशसहित घटना विश्लेषण गरेका छन्। उनले लेखेका छन्, ‘त्यो बेला लादेन पक्राउ पर्नु वा मारिनुलाई अमेरिका र आतंकवादविरुद्धको युद्धमा निर्णायक घडी भन्न सकिन्थ्यो, तर आज यो घटना समग्र आतंकवादविरोधी लडाइँको एउटा सानो प्रसंगभन्दा बढी केही होइन।’
बिन लादेनको मृत्युपछि विभिन्न कोणबाट घटना विश्लेषण गरिरहेका अमेरिकी, युरोपेली तथा अन्य अन्तर्राष्ट्रिय अखबारमा टोनीको विचारसँग मिल्दोजुल्दो विश्लेषण बढी प्रवाह भइरहेको छ।
सेप्टेम्बर ११ मा अमेरिकामाथिको आतंककारी हमलापछि संसारभरि अलकायदाको परिचय शिरमा सेतो फेटा गुथेका, लामो कालो दारी र जुंगा पालेका, लाम्चो अनुहारका व्यक्तिको तस्बिरसँग आएर जोडिन पुग्यो। बेलाबेला अलजजिरालगायत अरबी टेलिभिजन च्यानलमार्फत् भिडियो सार्वजनिक गरेर अमेरिका र अमेरिकीविरुद्ध ‘जेहाद’ घोषणा गर्ने तिनै व्यक्ति थिए, ओसामा बिन लादेन।
यसबीच लादेन अफगानिस्तानको तोराबोरा क्षेत्रको गुफामा लुकेर बसेका छन् भन्ने शंकाका आधारमा अमेरिकी सेनाले बम खसाल्यो। त्यही बमबारीमा लादेन मारिएको प्रचार पनि भयो। तर, उनी सुटुक्क अफगानिस्तानको सीमा नाघेर पाकिस्तान छिरिसकेछन्।
यसबीच अमेरिका र उनको समर्थक नेटो सैनिक गठबन्धनको टोली अलकायदा भनेको लादेनमात्रै हो भनेजस्तै गरी उनको पछाडि कुदिरह्यो। उता अलकायदाका यी नेतालाई इस्लामिक कट्टरपन्थीहरूका साथै अमेरिकाप्रति अलिकति पनि मनमा द्वैष भएकाहरूले ‘हिरो’जस्तै ठाने। लादेनको तस्बिरअंकित टिसर्टले चे ग्वेभाराजत्तिकै तहल्का पिट्यो।
तर, यी सब हिजोका कुरा हुन्। आज अलकायदाको परिचय लादेनको व्यक्तित्वमा निर्भर छैन, त्योभन्दा माथि उठिसकेको छ। उतिबेला आतंकवाद भनेकै लादेन भन्ने थियो, अहिले लादेनको सोच र राक्षसी योजनाहरूलाई कार्यान्वयनमा ल्याउन एउटा ठूलो जत्था शारीरिक र मानसिक रूपमा तयार भएर बसेको छ, जो ‘इस्लामिक जेहाद’ का नाममा आफ्नो ज्यान ‘उत्सर्ग’ गर्न तयार छन्।
त्यही भएर टोनी लेख्छन्, ‘ओसामाको मृत्युले अमेरिका र उसका सहयोगी देशहरूको चुनौती अलिकति घटाएकोमात्र छ, अन्त्य गरेको छैन।’
अमेरिकी राष्ट्रपति बाराक ओबामाको भाषणमा पनि यो आशंका केही हदसम्म झल्किएको छ। दोस्रो कार्यकालका लागि चुनावी दौडाहा सुरु गरिसकेका ओबामाले टेलिभिजन सन्देशमार्फत् लादेन मारिएको खबरसहित ‘हामीले न्याय गर्यौं’ भन्ने उद्घोष गरेर अमेरिकीहरूलाई रातारात विजयोत्सव मनाउन सडकमा त ओराले, सँगसँगै यो पनि भन्न चुकेनन्, ‘हामीले अझै पनि देशभित्र र बाहिर सतर्क रहनुपर्छ।’
ओबामाको भाषणको यो अंशलाई न्यूयोर्क टाइम्सको सम्पादकीयमा ‘खतरा टरिसकेको छैन भन्ने सन्देशसहितको मह