बाख्रापालनले फेरिँदै जीवनस्तर

फाइल तस्बिर :

 

तम्घास (गुल्मी)- गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ झमादीकी सुकमाया नेपालीको गोठमा अहिले कुल ३८ बाख्रा छन् । त्यसमा १५ माउ र छ ठूला बोका छन् । एकपटक वैदेशिक रोजगारीमा गएका छोरा आमाको व्यवसायबाट लोभिए ।

अहिले उनका छोरा पनि स्वदेशमा आमासँगै बाख्रापालन गरिरहनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालनमा लागेकी नेपालीले पछिल्लो समय बाख्राको सङ्ख्यामा वृद्धि गरेका छन् ।

एक करोड असी लाख लगानीमा सामूहिक बाख्रापालन

“घरखर्च चलाउन निकै सहज हुने रहेछ”, उनले भने । बाख्राबाट मात्रै वार्षिक रु तीन लाख आम्दानी हुने उनको भनाइ छ । बाख्रापालनबाट नियमित आम्दानी हुन थालेपछि दैनिक काममा निकै सहजता आएको सुकमाया बताउँछन् ।

सोही ठाउँकै २८ वर्षीया खुमा पुनले पनि १४ बोका, १८ माउ र अन्य पाठापाठी गरी ४८ बाख्रा पाल्नुभएको छ । उहाँलाई बाखापालनमा श्रीमान् र सासूआमाको साथ छ । “पहिले–पहिले यो पेसाप्रति खासै विश्वास लाग्ने थिएन”, उनले भने , “अहिले आम्दानी वृद्धि हुँदै गएपछि पेसाप्रति आत्मविश्वास बढेको छ ।”

आफ्नो नियमित आम्दानीको स्रोत भएपछि गाउँमा ऋण लिन एवं घर व्यवहार चलाउन सहज हुने पुनको अनुभव छ । “पहिले–पहिले कसैसँग पैसा सापटी माग्दा पनि नपाउने स्थिति थियो, अहिले धेरैथोरै कारोबारमा समस्या छैन”, उनले भने । उनले बाख्राका लागि आवश्यक उन्नत जातको घाँस पनि लगाएका छन् । सोही ठाउँकै शिला नेपालीले पनि आइतबार बाख्राको पाठी उपहार पाए ।

रुरुक्षेत्र गाउँपालिकामा सञ्चालित रुरु कृषि परियोजनामार्फत गठन भएको मूल समूहबाट पाठी प्राप्त गर्नुभएकी उहाँले बाख्रापालन व्यवसायलाई वृद्धि गर्दै लैजाने बताए । रुरुक्षेत्र गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा नवप्रभात युवा सङ्घको सहजीकरणमा रुरुक्षेत्रभर ‘रुरु कृषि परियोजना’ सञ्चालनमा छ ।

त्यसमा पहिलो चरणको कार्यक्रम मूल समूह र दोस्रो चरणको कार्यक्रम उपहार समूह हो । “समूहमा आबद्ध हुन पाउँदा धेरै खुसी छु, यसले आयआर्जनका साथै नेतृत्व विकासका कार्यक्रमसमेत सञ्चालन गर्छ”, नेपालीले भनर्, “व्यावसायिक बाख्रापालन गरी आम्दानी वृद्धि गर्ने लक्ष्य रहेको छ ।” रुरु कृषि परियोजनाबाट घाँसको बीउ प्राप्त गर्नाका साथै बाख्रालाई दाना बनाउनेलगायतका सीप सिकेको उनको भनाइ छ । वार्षिक चार करोडका खसीबोका निर्यात रुरुक्षेत्रभर सञ्चालन भएको परियोजनाबाट ७७ समूहमा दुई हजार चार सयभन्दा बढी महिला आबद्ध छन् ।

परियोजनाले खासगरी उन्नत नस्लका बाख्रा वितरण, तरकारी, उखु, फलफूल र दुग्ध उत्पादनमा काम गर्दै आएको परियोजना संयोजक प्रकाश चालिसेले बताए ।

परियोजनाले पहिलो चरणमा मुल समूहमा आबद्ध महिलाहरुलाई पाँच सय ८५ बाख्रा वितरण गरेको थियो । गत वर्षको चैतबाट सुरु भएको परियोजनाको अवधि २६ महिनाको रहेको छ । अहिले गाउँपालिकाभरी कुल आठ हजार माउ बाख्रा र दुई हजार पाँच सय ठूला खसीबोका रहेको चालिसेको भनाइ छ ।

विगत एक वर्षमा गाउँपालिकाबाट रु चार करोड बराबरका खसीबोका गाउँपालिकाभन्दा बाहिर निर्यात भएका छन् । समग्रमा रुरुक्षेत्रमा व्यावसायिक बाख्रापालनबाट महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन आएको छ ।

गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले कृषि, पशुपालन र पर्यटनमार्फत रोजगारी सिर्जना गर्ने पालिकाको लक्ष्य रहेकोले परियोजना सञ्चालन गरेको बताए । “मासुको मूल्य र बजारीकरणको समस्या छैन”, अध्यक्ष ज्ञवालीले भने, “बाख्रापालनमार्फत महिलाहरुको आर्थिक जीवनस्तर उकास्ने लक्ष्य लिएका छौँ ।” अध्यक्ष ज्ञवालीले आर्थिक रुपमा सम्पन्न भएमा अधिकांश समस्या समाधान हुने भएकाले महिलालाई बाख्रापालनमा सक्रियतापूर्वक लाग्न आग्रह गरे । –रासस