सिड्नी वैशाख २९ – विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्जलाई ‘मानव अधिकारको खोजमा असाधारण साहस’ देखाएको भन्दै सिड्नी पिस फाउन्डेसनले शान्ति पुरस्कार दिएको छ । उनले सरकारी गोपनीयताको शताब्दीयौं पुरानो अभ्यासलाई चुनौती दिएर उच्च पारदर्शिता र सरकारको जिम्मेवारीका लागि योगदान दिएको फाउन्डेसनले जनाएको छ ।
बर्सेनि दिइने दिने भनिए पनि १४ वर्षको इतिहासमा दलाई लामा, नेल्सन मन्डेला र जापानी बौद्ध नेता दाइसकु इकेदाले मात्र यो पुरस्कार पाएका छन् ।
‘जनताको सूचनाको अधिकार’ को रक्षक बनेर विकिलिक्स र असान्जले पत्रकारिता र सूचनाको स्वतन्त्र प्रवाहमा नयाँ सम्भावना सिर्जना गरेको छ,’ फाउन्डेसनका निर्देशक स्टुअर्ट रिसले भनेका छन् । असान्जको सनसनीपूर्ण वेबसाइट विकिलिक्सले पछिल्लो समय अफगानिस्तान र इराक युद्धलगायत धेरै अमेरिकी गोप्य दस्तावेज सार्वजनिक गरेको छ ।
– एएफपी