ओसामा विन लादेन हत्याको बदलास्वरुप पाकिस्तानको अर्धसैनिक बल प्रशिक्षण केन्द्रमा आत्मघाती बम विस्फोटन,कम्तिमा त्रिहत्तर जनाको मृत्यु

इस्लामावाद –  पाकिस्तानको कर्सादा जिल्ला स्थित सावकदर अर्धसैनिक बलको तालिम केन्द्रलाई लक्षित गरी गराइएको आत्मघाती बम विस्फोटनमा कम्तीमा त्रिहत्तर जनाको मृत्यु भएको छ। दश मिनेटको अन्तरालमा गराइएका दुइ वटा आत्मघाति बम विस्फोटमा पचास जना घाइते भएका छन्। बम विस्फोट आज विहान स्थानिय समय अनुसार पाँच बजेर पचपन्न मिनेटमा गराइएको थियो।

 

मारिनेमा पैसठ्ठी जना सिमा सुरक्षा बलका जवान र अन्य सर्वसाधारण भएको बताइएको छ। भर्खरै तालिम कोर्ष पुुरा गरेर दश दिने विदामा घर जाने तयारीमा रहेका सिमा सुरक्षा प्रहरी सवार बसमा सो विस्फोट गराइएको प्रहरीले बताएको छ। मोटरसाइकलमा सवार आत्मघाति आक्रमणकारीले तालिम केन्द्रको प्रवेशद्धार नजिक सिमा सुरक्षा प्रहरी सवार बसमा विस्फोट गराइएको थियो। अर्को विस्फोट प्रवेशद्धारदेखि केही टाढा पैदलमा आएको आक्रमणकारीले गराएको बताइएको छ। विस्फोटमा घाइते हुने प्रहरीलाई नजिकको अस्पतालमा भर्ना गरिएको छ।

 

घाइते हुनेको अवस्था गम्भिर भएका कारण मृत्यु हुनेको संख्या बढ्ने अुनमान गरिएको छ। विस्फोटका कारण सडकमा रहेका अन्य सवारी साधन पनि क्षतिग्रस्त भएको खबरमा उल्लेख छ। विस्फोटपछि सुरक्षाकर्मीले सावकदर इलाका सिलबन्दी गरी सुरक्षा व्यवस्था कडा पारेको छ। सावकदर इलाका अफगानिस्तानको सिमा नजिक तथा पेशावरदेखि पैतिस किलोमिटर दुरीमा अवस्थित छ। गत मे दुइमा अमेरिकी विशेष सैनिक कारबाहीमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदाका प्रमूख ओसामा विन लादेन मारिएपछि पाकिस्तानमा गरिएको यो पहिलो आत्मघाति आक्रमण हो। विन लादेन पाकिस्तानी भुमिमा अमेरिकी कारबाहीमा मारिए पछि अलकायदा र तालिबानले लादेन मृत्युको बदला लिने चेतावनी दिएको थियो।

 

शुक्रबार विहान गराइएको आत्मघाती बम विस्फोटको जिम्मा पनि पाकिस्तान तालिबानले लिदै सो लादेन हत्याको बदला स्वरुप गरिएको पहिलो आक्रमण भएको बताएको छ।

 

– एजेन्सी