-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
पौष–२२ अर्घाखाँची – छैठौं अर्घाखाँची कृषि, पर्यटन तथा औद्योगिक महोत्सव यहि पौष २९ गतेदेखि संचालन हुनेभएको छ । स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने र व्यवसायिक पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्य सहित पौष २९ गतेदेखि माघ १२ गते सम्म सन्धिखर्कको कुंडुलेफाँटमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
अर्घाखाँची उद्योग वाणिज्य संघको आयोजनामा छैठौं अर्घाखाँची महोत्सव–२०८१’ आयोजना गर्न लागेको सोमबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरि औपचारिक जानकारी गराइएको छ ।
लुम्बिनी प्रदेशका मूख्यमन्त्री चेतनारायण आचार्यले समुद्घाटन गर्ने महोत्सवको शुभारम्भको दिन जिल्लाको चिनारी झल्किने बिषेश झाँकी सहितका सांस्कृतिक प्रदर्शनीद्धारा अतिथि र सहभागीलाई स्वागत गरिने अर्घाखाँची उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएको छ ।
उहाँका अनुसार ३ सय ५० स्टल रहने यो महोत्सवमा ५० स्टल अर्घाखाँचीको उत्पादनको बिक्रि र प्रबद्र्धनका निम्ती निशुल्क उपलब्ध गराइने छ ।
जिल्लाको भेष,भुषा, कला,संस्कृति र पर्यटनका सामाग्री, स्थानिय कृषि उपज, घरेलु तथा लघु उद्यममार्फत तयार भएका बस्तुको बिक्रि तथा प्रदर्शनको निम्ती ५० स्टल निःशुल्क रुपमा उपलब्ध गराइने अध्यक्ष मिश्रको भनाई छ ।
यो महोत्सवमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने र महोत्सवमा करिब ५ करोडको कारोबार हुने आयोजकले लक्ष्य लिएको छ । ‘कृषि, पर्यटन, उद्योग र व्यपार, स्थानिय उत्पादनको प्रयोग रोजगारीको मूख्य आधार’ भन्ने नाराका साथ महोत्सव हुने भएको आयोजक उद्योग वाणिज्य संघका महासचिव तुल्सीराम खनालले जानकारी दिनुभएको छ ।
१३ दिन सम्म संचालन हुने महोत्सवमा जिल्ला तथा जिल्ला बाहिरका विभिन्न विधाका ख्यातीप्राप्त चर्चित कलाकारहरुद्धारा बिशेष प्रस्तुद्धारा दर्शकलाई मनोरन्जन प्रदान गरिनेछ ।
अर्घाखाँची आइडल सहित जिल्लाका दर्जनौं सांस्कृतिक झाँकी तथा प्रस्तुती पनि महोत्सवमा प्रदर्शन गरिनेछ । महोत्सवको आम्दानीबाट गत बर्ष पत्रकार महासंघ अर्घाखाँचीले संचालन गरेको पर्यटन प्रबद्र्धन अभियान मार्फत तयार पारिएको जिल्लाको पर्यटकिय बृतचित्रको महोत्सव अवधिभर सन्धिखर्क र महोत्सव समापनपछि नरपानीमा डिजिटल बोर्डमार्फत प्रर्दशन गरि प्रचार प्रसार गर्ने योजना बनाएको उद्योग वाणिज्य संघको भनाई छ ।
अर्घाखाँची जिल्लामा भएका धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरि पर्यटन भित्राउन र जिल्लालाई चिनाउनका लागि महोत्सवले भुमिका खेल्ने आयोजकले विस्वाँस लिएको छ ।
२०६६ सालदेखि एक वर्ष बिराएर सञ्चालन हुँदै आएको महोत्सव कोभिड–१९ का कारण दुई वर्ष रोकिएर २०७९ सालमा सञ्चालन भएको थियो भने गत बर्ष महोत्सव हुन सकेको थिएन ।