चट्टानी भीरमा परिवारको भविष्य खोजिरहेकाहरू

 

-चिरञ्जीवी मास्के

दोलखा । दोलखाको विगु र गौरीशङ्कर गाउँपालिकामा पर्ने चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउन १३ जना मजदुरहरू सक्रिय रहेका छन् । परिवारको भविष्य खोज्न प्रत्येक दिन मृत्युको त्रासमा काम गरिरहेको उनीहरूको भनाई छ ।

दोलखा लापिलाङका तुलबे थामी विगत एक महिना देखी चिम्लिङको चट्टानी भीर खोपेर पैदलमार्ग बनाउने काममा लागेका छन् । खुट्टा टेकाउने अवस्था नभएको ठाउँमा समेत डोरीको सहारामा काम गर्नुपर्ने तुलबेको भनाई छ ।

हामी प्रत्येक दिन मरेर बाँचिरहेका छौ तुलबेले भने–‘किनभने बिहान काममा लागेपछि बेलुका जिउँदै फर्कने हो की हैन ठेगानै हुँदैन ।’ काममा जतिसुकै जोखिम भए पनि परिवारको भविष्यको लागि पनि मृत्यु छल्दै अघि बढ्नुको विकल्प नभएको तुलबेको भनाई छ ।

परिवारलाई नभनी सुटुक्क काममा आएका तुलबेले केही दिन त काम गर्नै कठिन भएको बताए । परिवारले थाहा पाए भने यस्तो ठाउँमा काम गर्न आउनै दिँदैनन्, उनले भने– ‘गुजारा गर्ने बाध्यताले परिवारलाई थाहै नदिई आएको हो ।’

उमेरले ६४ बर्ष लागेका गौरीशङ्कर गाउँपालिका वडा नम्बर–९ रिकुका नेत्रबहादुर खड्का पनि विगत दुई महिनादेखि यही भीरमा परिवारको भविष्य खोजिरहेका छन् । अरू सीप जानिएन नेत्र बहादुरले भने–‘आफूले जानेको यस्तै मजदुरी काम छ, यो सजिलो ठाउँमा मात्र नहुने रैछ ।’ उमेर र जोखिमलाई हेरेर घरमा बस्ने हो भने परिवार चलाउन कठिन हुने नेत्र बहादुर बताउँछन् ।

सिन्धुलीका गोपाल मगरको बाध्यता पनि अरू साथीहरूको भन्दा फरक छैन । उनी भन्छन्– ‘यो भीरमा काम गर्दा ज्यान जोखिममा छ भन्ने बुझेको छु, तर रोजगारीको विकल्प नभएपछि यही काम गर्न बाध्य छु । यो भीरमा एउटा डोरीको भरमा काम गर्नु परेको छ, अलिकता खुट्टा चिप्लिएर खसियो भने बाँच्ने सम्भावनै छैन’

माथिल्लो तामाकोशी जलविद्युत आयोजना अन्तर्गतको रोल्वालिङ खोला जलविद्युत आयोजनाको सहयोगमा चिम्लिङको चट्टानी भीर छिचोल्दै पैदलमार्ग निर्माण भइरहेको हो ।

झण्डै साँढे चार किलोमिटरको पैदल मार्गले दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा रहेको माथिल्लो तामाकोशी हाइड्रोपावर आयोजनास्थल नजिक खोरदिङबाट गौरीशङ्कर गाउँपालिका–९ रिकु गाउँ जोड्ने रोल्वालिङ खोला जलविद्युत आयोजनाका आयोजना प्रमुख मनोज ताम्राकारले बताए ।

रिकु गाँउमा रोल्वालिङ खोला आयोजनाको अडिट– १ टनेल बन्दै छ । यो टनेलबाट आयोजनाको रोल्वालिङ खोला स्थित बाँध स्थल र लामाबगरमा रहने पावर हाउसमा पानी पुर्‍याउने सुरुङ भेटिने आयोजना प्रमुख ताम्राकारको भनाई छ ।

रिकुसम्म जोड्ने पदमार्ग रिकु गाउँका स्थानीयलाई आवतजावतमा सहज होस् र गाउँको जीवन स्तर उकास्न समेत उपयोगी बनोस् भनेर पैदलमार्ग निर्माण गर्न लागिएको आयोजना प्रमुख ताम्राकार बताउँछन् । पदमार्ग निर्माणपछि च्छो–रोल्पा हिमताल पुग्ने पर्यटकलाई समेत सहज हुने आयोजना प्रमुख ताम्राकार बताउँछन् ।

झण्डै छ करोड रुपैयाँ लागत अनुमान गरिएको पैदल मार्गको १४ सय मिटर निर्माण सकिएको आयोजना प्रमुख ताम्राकारले बताए ।

आयोजनाले पदमार्ग निर्माणको जिम्मा हाई हिमाललाई दिएको छ । पदमार्ग निर्माणको काम पेटी ठेक्कामा लिएका लापिलाङका इन्द्र थामी पदमार्ग बनाउन निक्कै जोखिमपूर्ण रहेको बताउँछन् । ‘मजदुर मात्र हैन हामी आफैँ पनि जोखिममा छौँ, तर यो गुजाराको लागि आवश्यक छ’ इन्द्रले भने । – RN