काठमाडौं, पुस २५ : ८४ दिनको हिरासत बसाईंपछि रवि लामिछाने बिहीबार हिरासतमुक्त भएका छन्।
कास्की अदालतको आदेशसँगै उनी ६५ लाख रूपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका कास्की प्रहरीको हिरासतबाट छुटेका हुन्।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा उनी कात्तिक २ गते पक्राउ परेका थिए। उनीविरूद्ध सहकारी ठगीसँगै संगठित र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो। धरौटी बुझाएपछि उनको स्वास्थ्य परीक्षण गरी उनलाई परिवार र पार्टीको जिम्मामा छाडिएको हो। लामिछाने कास्कीबाट हिरासतमुक्त भएपनि उनीविरूद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भइसकेको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा उनलाई समेत प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरिसकेको छ।
यसर्थ उनी भोलि काठमाडौं जिल्ला अदालत हाजिर हुनुपर्नेछ।
काठमाडौंमा पनि मुद्दा दर्त भएका कारण कास्की अदालतले धरौटीमा रिहा गरेपछि उनलाई काठमाडौं प्रहरीको जिम्मा लगाउने कि छाड्ने भन्ने विषयमा कास्की प्रहरीले छलफल गरेको थियो।
छलफलपछि लामिछाने आफैं शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा प्रहरीले उनलाई आफन्त र पार्टीको जिम्मा लगाएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताले लामिछाने शुक्रबार आफै जिल्ला अदालत काठमाडौं हाजिर हुने बताए।
काठमाडौंमा उनी उपस्थित भएपछि कास्कीमै यसअघि भएको प्रक्रिया सुरू हुन्छ। मुद्दाको विषयमा अदालतले प्रतिवादीहरूसँग बयान लिएपछि थुनछेक बहस हुन्छ। थुनछेक बहसपछि उनलाई बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न दिने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश गर्नेछ।
त्यस्तै उनीविरूद्ध मुद्दा रहेको रूपन्देही, चितवन र पर्सामा पनि उनको थुनछेक बहस हुनेछ। जहाँ जहाँ मुद्दा छ थुनछेक बहसका लागि लामिछानेलाई ती अदालतमा उपस्थित गराउनु पर्नेछ।