कांग्रेसमा देशव्यापी जनसमर्थन बढ्दै


 

– प्रेम नेपाली, पोखरा /चित्राङ्ग थापा, महेन्द्रनगर /लीला बराल, बिर्तामोड


काठमाडौ – दुई साताअघिको कांग्रेसी जुलुसले धेरै पोखरेलीलाई दोस्रो जनआन्दोलन साम्झायो । शान्ति स्थापना र संविधान निर्माणबारे जनतालाई सचेत पार्न र माओवादीलाई दबाब दिने देशव्यापी अभियानअन्तर्गत आयोजित जुलुसले पृथ्वीचोकदेखि सहिद भीमसेनचोकसम्मको झन्डै दुई किलोमिटर सडक भरिएको थियो । चुनावमा अनपेक्षित हार बेहोरेको र राष्ट्रिय राजनीतिमा दोस्रो स्थानमा पुगेर लगभग ‘सीमान्तकृत’ भएको कांग्रेका दिन आएका हुन् ? के पोखरेली जुलुस र देशका अन्य भागका कांग्रेसी जुलुसमा देखिएको जनसहभागिताले वामपन्थीहरूको बाहुल्य बढ्दो नेपाली समाजमा लोकतान्त्रिक शक्तिको पुनरोदयको संकेत दिएको हो ? उत्तर सबैको एक नहुन सक्छ । तर बितेका केही साता देशभरि भएका र आगामी ६ गते राजधानीमा हुने कार्यक्रमको पूर्वसन्ध्यामा कांग्रेसीहरूमा उत्साह छाएको छ । ‘देशमा १० वर्षे सशस्त्र द्वन्द्वको मारमा पिल्सिएका जनताले स्थायी शान्ति खोजिरहेका थिए,’ कांग्रेस कास्कीका सभापति यज्ञबहादुर थापा भन्छन्, ‘कांग्रेसले त्यसको अगुवाई गर्दा जनताले साथ दिएका हुन् ।’

पोखरामा सहभागीहरूको संख्याप्रति कतिपय कांग्रेसी नै अचम्मित थिए । संविधानसभाको चुनावपछि सहरले त्यत्रो जुलुस र सभा देखिको थिएन । चारतारे झन्डा बोक्दै नाराहरू लगाउँदै गाउँ-गाँउबाट कांग्रेस समर्थक र पार्टीमा आबद्धै नरहेका सर्वसाधारण सडकमा ओर्लिएका थिए । कतिपय सहभागी बिनाकुनै दबाब स्वतफूर्त आफैं खर्च जुटाएर शान्तिको पक्षमा ऐक्यबद्वता जनाउन आइपुगेका थिए । जुलुस सभास्थल चिप्लेढंुगासम्म आइपुग्दा पनि गण्डकी र धौलागिरिबाट सहभागीहरू आउनेक्रम जारी थियो । उनीहरूले ‘बन्दुकको कालो छायामुनि संविधान बन्दैन,’ ‘माओवादी हतियार छाड,’ ‘हतियार व्यवस्थापनपछि मात्र संविधान’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

-जागरण अभियानमा ६ ठाउँमा केन्द्रीयस्तरका आमसभा र ३८ ठाउँमा जिल्लास्तरीय सभा भएका थिए । केन्द्रीयण्स्तरका सभामा सम्बोधनका लागि तीन शीर्ष नेता नै पुगेका थिए । जागरणमा संविधानलाई भन्दा कांग्रेसले शान्ति प्रक्रियाअन्तर्गत लडाकुको समायोजन, पुनःस्थापना, घरजग्गा कब्जाको मुद्दालाई उठाएको थियो ।)

कांग्रेसी र्‍यालीहरूले माओवादीलाई के कति असर पार्छन् या संविधान निर्माणमा कस्तो भूमिका राख्छ हेर्न बाँकी छ तर आफ्नो पार्टी सकिएको पो हो कि भन्ने शंकामा रहेका कांग्रेसीहरूमा उत्साह थपेको र मनोबल उकासेको जस्तो देखिन्छ ।

‘अरू दलको जुलुस देख्दा गाउँमा कांग्रेस समर्थक नै छैनन् कि जस्तो पनि लाग्थ्यो,’ पोखरा-५, प्रस्र्याङकी सुभद्रा कोइरालाले भनिन्, ‘त्यो जुलुस देेखेपछि शान्ति र लोकतन्त्रमा आस्था राख्ने हामीजस्ता जनता धेरै रहेछन् भन्ने थाहा भयो ।’

लोकतन्त्र दिवसको अबसर थालिएको जागरणले कांग्रेसजनलाई अर्को एउटा सन्देश पनि दियो जो आमसभाको मञ्चमा देखिन्थ्यो, पार्टीका शीर्ष तीन नेताहरूको हसिलो उपस्थिति । त्यो पोखरेलीसभा र देशका पाँच अन्य भागमा भएका केन्द्रीय र्‍यालीहरूमा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाको उपस्थिति थियो । स्थापनाकालदेखि नै ‘नेता त्रय’मा बानी परेका कांग्रेसजनहरूले हालैका केही वर्षमा पछिल्लो नेतात्रयलाई सँगै देख्न पाएका थिएनन् । फेरि ‘तीन नेता तीनतिर’ भइरहने कांग्रेसमा गुटबन्दीका तीता अनुभवले पनि कार्यकर्तामा निरासा छाउने गरेको थियो ।

‘अघिल्लो महिनासम्म दिनहुँजसो कांग्रेसभित्रको खिचलो बढेको कुरामात्र सुन्नमा आउँथ्यो,’ सुदूरपश्चिमको सीमा सहर महेन्द्रनगरमा डेरी व्यवसाय गरिरहेका २८ वर्षीय प्रेमप्रकाश भट्टले महेन्द्रनगरको कांग्रेससभाबाट फर्केपछि भने, ‘आपसी भागबन्डाका कुरा नमिलेर विवाद बढेको सुनिन्थ्यो । वैशाख २६ मा आइपुग्दा बदलिएको कांग्रस देखियो । यसपटक जनजागरण अभियान सुरु गरेर कांग्रेसले ठीक समयमा ठीक काम गरेको छ ।’              

नेता त्रयबाहेक प्रकाशमान सिंह र विमलेन्द्र निधि, सुजाता कोइराला र एनपी साउद, चन्द्र भण्डारी तथा नवीन्द्रराज जोशीसम्मका नेतालाई एकै थलोमा फेला पार्दा ‘सुसुप्त कांग्रेसजनलाई उत्साह र ऊर्जा थपिएको’ उनले बताए ।

पोखराबाट सुरु भई पूर्वी नेपाल हुँदै अन्तिम चरणमा वैशाख २६ मा महेन्द्रनगरमा आयोजना गरिएको सभा बितेका तीन वर्षपछि सुदूूरपश्चिममा आयोजित सबैभन्दा ठूलो भेला भयो । प्रचण्ड (यहाँ अन्य अर्थ नखोजौं) गर्मीमा पनि सभामा सबै उमेर समूह र वर्गका मानिस उपस्थित थिए । ‘जमानादेखिका, बूढादेखि तरुण दल र नेविसंघबाट कांग्रेसको मूल प्रवाहमा समाहित हुन लागेकाहरूको उपस्थितिले सुदूरपश्चिममा कांगे्रस अझै डगमगाएको छैन भन्ने सन्देश दिएको छ,’ पाठकले भने । उनका अनुसार सबैभन्दा ठूलो उपलब्धि कार्यक्रममा पुगेका कांग्रेसीहरूबीच ‘संस्थापन र देउवा पक्ष’ भन्ने जस्ता भिन्नता ‘कहीं कतै नदेखिनु’ नै थियो ।

कार्यक्रममा पुगेका अधिकांश कांग्रसीहरूले जागरण अभियान ढिला भए पनि साह्रै नबिगि्रएको भन्दै आफैलाई ढाडस दिए । ‘ठीक समयमा कांग्रेसले जनता सम्झयो,’ भीमदत्त नगरपालिका-१६ का किसान दामोदर अवस्थीले भने, ‘कम से कम जनतामाझ जाने जमर्को त गर्‍यो ।’ ०४८ सालको पहिलो आमनिर्वाचन र ०५६ को चुनावमा सुदूरपश्चिमले कांग्रेसलाई सरकार निर्माण गर्ने बहुमत ‘दिएकै हो’ भन्ठान्ने अवस्थीले भने, ‘जबजब कांग्रेसभित्र आपसी फुट चर्कन्छ कांग्रेस चुनाव हार्दै जान्छ । यसपाला देखा परेको एकता रहिरहे कांग्रेस फेरि सुदूरपश्चिममा पुरानै साखमा र्फकन्छ ।’

कांग्रेसी नेताहरूले पनि आफूहरू कति पानीमा रहेछौं भन्ने ठम्याएको हुनुपर्छ किनकि केही सभाहरूमा उनीहरूले नै कार्यक्रमको उद्देश्य कांग्रेसी तागत नाप्नु पनि हो भनेका थिए । झापाको बिर्तामोडमा दुई साताअघि आयोजित केन्द्रीय आमसभामा रामचन्द्र पौडेलले भनेका थिए, ‘नेपालमा प्रजातन्त्र चाहने जनताको शक्ति माओवादी र एमालेले थाहा पाउन् भनेर मात्रै होइन, कांग्रेस आफ्नो शक्ति पहिचान गर्न पनि जनताका बीच आएको हो ।’

त्यो सभाले दिलाएको कार्यकर्तामा सिर्जेको हौसला र छाडेको दुई सातापछि पनि उत्तिकै ताजा अनुभव गर्न सकिन्छ । दक्षिण-पश्चिम झापाको गौरादहबाट आमसभामा गएका कांग्रेस कार्यकर्ता सियाराम राजवंशीले भने, ‘हराएको कांग्रेस ब्युँतिए जस्तो भएको छ ।’ जिल्लाको ६ नम्बर क्षेत्रका सभापतिसमेत रहेका आदिवासी नेता भन्छन्, ‘तीन शीर्ष नेताले एउटै मञ्चबाट गरेको सम्बोधनले एकताको दह्रो सन्देश पनि दिएको छ ।’ दुई सातापछि पनि आफ्नो गाउँ टोलमा कांग्रेस सभाको चर्चा चल्ने गरेको राजवंशीको भनाइ छ । सभामा भाग लिएका कांग्रेसजन ‘सुरक्षित महसुस गरी गाउँ फर्किएका र आगामी चुनावमा’ पार्टीले ‘सहजै बहुमत ल्याउनेमा विश्वस्त भएको’ राजवंशीले बताए ।

झापाको बिर्तामोडमा आयोजित सभामा मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लाबाट पनि कार्यकर्ता आएका थिए । जिल्लास्तरका कांग्रेसी नेतृत्वमा देखिएको एकताबाट सबैभन्दा बढी फुरुङ परेका छन् । ‘कांग्रेससभाको मूल सन्देश नेतृत्वको एकता हो’, ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष यज्ञ अधिकारीको विश्लेषण छ, ‘नेपाली कांग्रेस अब भावनात्मक रूपले एक भएको छ र सभाको उपस्थितिले त्यसलाई व्यवहारतः पुष्टि गरेको छ ।’ शान्ति प्रक्रिया र संविधान निर्माण सम्पन्न भएपछि कांग्रेसका पक्षमा लहर आउने उनले आशा गरे । 

आमसभाको प्रभाव कार्यकर्तामाझ चौतर्फी परेको छ । महिला संघकी क्षेत्रीय सभापति पार्वता गिरीलाई कांग्रेस ‘कति शक्तिशाली र लोकपि्रय छ’ भन्ने यसैपटक अनुभव भयो । नेविसंघ हुदै कांग्रेस राजनीतिमा आएकी गिरी आफूलाई आमसभाले राजनीतिमा थप उत्साहका साथ लाग्न प्रेरणा मिलेको बताउँछिन् ।

संविधान सभाको चुनावले माओवादीलाई परम्परागत रूपमा कांग्रेसले ओगटेको प्रथम स्थानमा मात्र पुर्‍याएन देशको दोस्रो पुरानो पार्टीलाई तेस्रो र लगभग निरीह शक्तिका रूपमा धकेलिदियो । जस्तै- कास्कीमा ०४८ मा एक, ०५१ मा एक, ०५६ मा तीन वटै निर्वाचन क्षेत्रमा कव्जा जमाएको कांग्रेस ०६४ मा पुरै बढारिएको थियो । हालैको सभाले त्यो घाउमा मल्हम लगाएको कांग्रेसीहरूले ठानेका छन् । ‘हिंसाको अन्त्य गरेर डर, धम्की र त्रासबिहीन लोकतान्त्रिक वातावरण भए कांग्रेसको  जित सुनिश्चित हुन्छ,’ कास्की सभापति थापाले दाबी गरे ।

कांग्रेस समर्थकहरूले पार्टीभित्र सैद्धान्तिक मतभेद नरहेको राम्रैसँग बुझेको बताउँदै सभासद रमेश लेखक भन&#2381