-साबित्रा पौडेल , गुल्मी ।
-इस्वरी बश्याल , गुल्मी ।
पुस २४ गुल्मी । – गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी तिव्र पारीएको छ।
गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस् क्लब रिडी र एफ.सि रिडीको आयोजना तथा रुरु क्षेत्र गाउँपालिका गुल्मीको मुख्य संरक्षण र रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ रिडीको संरक्षणमा लाग्ने यस वर्षको माघे संक्रान्ति मेला माघ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रचार प्रसार संयोजक चिरञ्जिवी ज्ञवालिले जानकारी दिनुभयो ।
मेलामा उत्पादन तथा व्यापार व्यवसायको प्रवर्धन तथा प्रदर्शनी, घरेलु तथा ठूला उत्पादनको प्रदर्शनी, स्थानीय हस्तनिर्मित काष्ठ माटो र बाँसका भाँडा तथा सामग्रीको प्रदर्शनी, कृषि प्रदर्शनी, विभिन्न जातजाति समुदाय र सम्प्रदायको लोक नृत्य सांस्कृतिक झाँकी तथा जात्रा प्रदर्शनी लगायत विविध सामग्रीहरूको प्रदर्शन गरिनेछ ।
मेलामा पुष्कल शर्मा, सुप्रिम मल्ल ठकुरी, शिलु भट्टराई, अर्जुन कौशल, विधान कार्की, उज्वल गिरी, कमल भट्टराई, विजय बम्रेल, भूमिका गिरी,पुरुषोत्तम भण्डारी पुर्खेबा, नारायण बीपी परियार, बिष्णु शिर्पाली, प्रतीक्षा कुँवर, नन्दु परियार, लालुमाया कुँवर, मञ्जु भट्टराई तथा अन्य राष्ट्रिय र स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहनेछ।
जेठी माइली र कान्छी संक्रान्तिका रूपमा मनाइने मेलाको लागि रिडी बगरमा गुल्मी, पाल्पा र स्याङ्जाका अस्थायी पसलहरू साथै रूपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, अर्घाखाँची, बाग्लुङ, पर्वत, रोल्पा, रुकुम, हुम्ला, जुम्ला लगायतका स्थानबाट स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गर्दछन् ।
माघे संक्रान्ति रिडी मेलामा काम्लो, राडीपाखी, ओखर, घाँजी, जडीबुटी, नाङ्लो, बाँसबाट बनेका हस्त सामग्री, न्यानो कपडा, टिमुर, सुन्तला, खुदो, गुण, अचार, सिद्रा लगायतका सामग्री बिक्रीको लागि राख्ने गरिन्छ ।
धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष तीन जिल्लाको संगमस्थल रुरुक्षेत्र धाम रिडीमा माघे संक्रान्ति मेलाको आयोजना गरिँदै आइएको मुल आयोजक समितिका संयोजक तारा प्रसाद सुवेदिले जानकारी दिनुभयो ।
माघे संक्रान्ति मेलाको अवसर पारी जिल्लाको रुरु क्षेत्र गाउँपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई गुल्मी, कृषि ज्ञान केन्द्र गुल्मी, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मी, सत्यवती गाउँपालिका, छत्रकोट गाउँपालिका र गुल्मी दरबार गाउँपालिकाको सहकार्यमा रिडीमा जिल्ला स्तरीय कृषि मेला प्रदर्शनीको समेत आयोजना गरिएको छ ।