-अनिल नेपाली , अर्घाखाँची ।
अर्घाखाँची । दलित समुदाय माथि हुने विभेद अझै कायमै रहेको राष्ट्रिय दलित पत्रकार संघ, लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले बताएका छन् ।
बस्यालले दलितलाई गर्ने विभेदको रुप बदलिएको बताएका हुन । राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँची शाखाले आयोजना गरेको एक परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष बस्यालले दलितका आवाजलाइ बुलन्द गर्नको निम्ति राष्ट्रिय दलित पत्रकार संघ गठन भएको बताउदै उनले समाजमा दलितमाथि हुने विभेदको कानूनी उपचार गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा दलित अधिकार संजालका जिल्ला संयोजक विष्णु परियारले मन्तब्य राख्दै जिल्लामा दलितका समस्या धेरै भएकोले यसकाे निराकरणका लागि उनले समाजमा दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गनुपर्ने बताए ।
यस्तै कार्यक्रममा अनौपचारिक सेवा केन्द्र (इन्सेक) प्रतिनिधि कुल बहादुर नेपालीले अर्घाखाँचीमा दलित माथिका विभेदका उदाहरण बताउँदै विभेदका विरुद्ध पत्रकारले आवाज उठाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुका अध्यक्ष सम्भु विक, सुनचाँदी व्यवसायी संघ अर्घाखाँचीका कोषाध्यक्ष केशव बराईली, नेपाल दलित मुक्ति मोर्चा अर्घाखाँचीका अध्यक्ष संजय हिताङ, रास्वपा अर्घाखाँचीका सहसचिव चिरञ्जीवी सुनार लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीमा सल्लाहकार तथा लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँची उपाध्यक्ष नवीन विकको संचालनमा सम्पन्न भएको थियो ।